रविराजलाई सम्मानको ओइरो : मन्त्री यादवले भने, 'रविराज उदितनारायण झैँ नाम गर्नेछ'
रविराज साह नेपाल लोकस्टारको टप ५ सम्म पुगेर बाहिरिएपनि आफ्नो दमदार गायन कला र नयाँ अन्दाजपनले चौतर्फी चर्चामा छन् ।

२०७६ असोज २८ मंगलबार, बिहान १०:४४ बजे४ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालकै सबैभन्दा ठूलो मौलिक सिंगिङ रियालिटी शो नेपाल लोकस्टारबाट सबैको मन जित्दै चर्चामा आएका प्रखर गायक रविराज साहलाई सम्मानको ओइरो लागेको छ ।
लोकस्टारको टप ५ को फाईनलबाट बाहिरिएपछि जन्मथलो मधेश झरेका रविराजलाई उनका शुभचिन्तकहरुले भव्य स्वागतसहित सम्मान गरिरहेका छन् । रविराजलाई यतिबेला सम्मान कार्यक्रममा सहभागी हुन भ्याईनभ्याई छ ।
आफ्नो गायन कलाले दर्शकको मनमस्तिष्कमा बस्न सफल भएका रविराजलाई मधेशका पूर्वी जिल्लादेखि पश्चिमसम्मका हरेक जिल्ला एवं ठाउँमा सम्मान गरिएको छ । उनलाई सम्मान गर्ने क्रम विभिन्न ठाउँमा अहिले जारी छ । आईएमई नेपाल लोकस्टारबाट एकाएक चर्चामा आएका रविराज यतिबेला शुभचिन्तक भेटघाटमै व्यस्त छन् ।

शुभचिन्तक भेटघाटको क्रममा प्रदेश २ को सप्तरी, सिरहा हुँदै सोमबार प्रदेशको अस्थायी राजधानी जनकपुरधाम पुगेका रविराजलाई त्यहाँ भव्य सम्मान गरिएको छ । जनकपुरमा रविराजलाई मधेश ग्रामिण विकास परियोजना, आलाप लगायतका संस्थाहरुले एक कार्यक्रमको आयोजना गरी भव्य सम्मान गरेको हो ।
जनकपुरको अन्नपूर्ण होटेलमा आयोजित सम्मान कार्यक्रममा रविराज प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव, सपाका प्रदेश सांसद एवं स्वच्छता अभियानी रामअशिष यादव, प्रसिद्ध गायक सुनिल मल्लिक, ललित कामत, चर्चित हास्य कलाकार रामनारायण ठाकुर, मिनापका अध्यक्ष प्रमेश झा लगायतका विशिष्ट व्यक्तित्वहरुको हातबाट सम्मानित भए । कार्यक्रममा वक्ताहरुले प्रदेश २ को सर्लाही घर भएका रविराज धमाकेदार प्रस्तुति दिएपनि मधेशी भएकै कारण विभेदको सिकार भएको र टप ५ बाटै बाहिरिनुपरेको बताएका छन् ।
लोकस्टारमा अन्य प्रतिस्पर्धीहरु मात्र नेपाली भाषाका गीत गाएपनि रविराज भने सबै समुदायलाई जोड्न विभिन्न भाषाका गीत गाए । बहुप्रतिभाशाली गायक रविराजसँग तैपनि समुदाय र क्षेत्रकै आधारमा विभेद भएको उनीहरु बताउँछन् ।




















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…