जसपा नेपालबाट निर्वाचित १८ जनप्रतिनिधिको पद रिक्त, लहानकी उपप्रमुखसहित मधेसका ५ जना पदमुक्त
निर्वाचन आयोगको निर्णयसँगै जसपा नेपालबाट निर्वाचित स्थानीय तहका १८ जनप्रतिनिधिको पद रिक्त भएको छ ।

२०८३ मंसिर ३ बिहीबार, बिहान ७:३३ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले दल त्याग गरेको भन्दै उनीहरूको पद रिक्त भएको सूचना जारी गरेको हो ।
आयोगले आज मङ्सिर ३ गते प्रकाशित गरेको सूचनाअनुसार मधेस प्रदेशका ५ र कोशी प्रदेशका १३ जना जनप्रतिनिधिको पद रिक्त भएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा ९१० तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम आयोगले उनीहरूको पद रिक्त गरेको जनाएको छ ।
पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको भनी जसपा नेपालको केन्द्रीय समन्वय समितिको निर्णयसहित आयोगमा जानकारी प्राप्त भएपछि मङ्सिर २ गतेको निर्णयअनुसार पद रिक्त गरिएको हो ।
पद रिक्त हुनेमा मधेस प्रदेशको सिरहाका तीन र पर्साका दुई जना जनप्रतिनिधि छन् ।
सिरहाको लहान नगरपालिकाकी उपप्रमुख राम चरित्र महतो, सखुवानान्कारकट्टी गाउँपालिका–४ का वडाध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजय कुमार महतोको पद रिक्त भएको छ ।
त्यस्तै, पर्साको कालिकामाई गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नं. ३ का वडाध्यक्ष संजय कुमार पटेलको पदसमेत रिक्त भएको आयोगको सूचनामा उल्लेख छ ।
कोशी प्रदेशका १३ जनप्रतिनिधिमध्ये सबैभन्दा बढी खोटाङका आठ जना छन् । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरु राज राई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका वडा नं. १० का वडाध्यक्ष मुगा धन राई, महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गिता वि.क., वडा सदस्य रामधन राई र शहर मनी राई तथा नगर कार्यपालिका सदस्य विरेन्द्र कुमार दर्नालको पद रिक्त भएको छ ।
त्यसैगरी भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का वडाध्यक्ष बाल चन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडाध्यक्ष छत्र बहादुर राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्वाङ्ग र सन्दकपुर गाउँपालिका–४ का वडाध्यक्ष ढाल बहादुर गुरुङ्ग तथा सुनसरीको कोशी गाउँपालिका–६ का वडाध्यक्ष जुडिलाल कौडगियाको पद पनि रिक्त भएको छ ।
निर्वाचन आयोगको निर्णयसँगै जसपा नेपालबाट निर्वाचित स्थानीय तहका १८ जनप्रतिनिधिको पद रिक्त भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…