सोमबारदेखि नियमित सञ्चालन हुँदै सरयू–कमला एक्सप्रेस, जनकपुरको पर्यटनमा नयाँ अवसर
त्यसका लागि पर्यटकीय पूर्वाधार विकास, प्रचारप्रसार र व्यवस्थित भ्रमण प्याकेज निर्माणमा ध्यान दिन आवश्यक छ ।

२०८३ मंसिर ९ बुधबार, बिहान ९:११ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम र भारतको अयोध्याधामबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवा आगामी सोमबारदेखि नियमित सञ्चालन गर्ने तयारी गरिएको छ ।
यसले मिथिला र अवधबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले अर्को सातादेखि नियमित रेल सेवा सुरु हुने जानकारी दिएका छन् । उनका अनुसार यसबाट अयोध्याबाट जनकपुरधाम आउने र जनकपुरधामबाट अयोध्या जाने तीर्थयात्री तथा सर्वसाधारणलाई यात्रा गर्न सहज हुनेछ ।
प्रधानमन्त्री बालेन्द्र साह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए । उद्घाटनपछि अयोध्याबाट प्रस्थान गरेको रेल विभिन्न स्टेसन हुँदै मंगलबार बिहान जनकपुरधाम आइपुगेको थियो ।
करिब ६०४ किलोमिटर लामो यात्राका क्रममा रेल भारतको उत्तर प्रदेश र बिहारका विभिन्न सहर हुँदै नेपाल प्रवेश गरेको थियो । मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगर हुँदै रेल जनकपुरधाम पुगेको थियो । १७ वटा डिब्बा रहेको रेलमा स्लिपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा उपलब्ध छन् ।
रेल सेवा सञ्चालनले जनकपुरधाममा धार्मिक पर्यटकको आगमन बढ्ने सम्भावना रहे पनि त्यसबाट स्थानीय अर्थतन्त्रलाई लाभ पुर्याउनु मुख्य चुनौती देखिएको छ । जनकपुरधाम–४ का व्यवसायी पुरुषोत्तम साहले अयोध्याबाट आउने पर्यटकलाई जानकी मन्दिरको दर्शन गराएर केही घण्टामै फर्काउनेभन्दा जनकपुरधाम र आसपासका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गराउने वातावरण बनाउनुपर्ने बताए ।
उनका अनुसार पर्यटकको बसाइ अवधि बढाउन सके होटल, रेस्टुरेन्ट, यातायात, हस्तकला तथा अन्य स्थानीय व्यवसायले प्रत्यक्ष लाभ लिन सक्छन् । त्यसका लागि पर्यटकीय पूर्वाधार विकास, प्रचारप्रसार र व्यवस्थित भ्रमण प्याकेज निर्माणमा ध्यान दिन आवश्यक छ ।
सरयू–कमला एक्सप्रेसलाई केवल यातायात सेवामा सीमित नराखी जनकपुरधामको पर्यटन, व्यापार र स्थानीय रोजगारीसँग जोड्न सके यसले क्षेत्रीय अर्थतन्त्रमा समेत योगदान पुर्याउन सक्ने अपेक्षा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…