धनुषा २ का साँसद राम विनोद यादवको पहलमा बनारसबाट अपहरणमुक्त भए 'चन्दन यादव'
सांसद यादवले प्रेस विज्ञप्तिमार्फत चन्दनलाई अपहरणमुक्त गराउन सफलता प्राप्त भएको जानकारी दिँदै आवश्यक प्रक्रिया पूरा गरी सकुशल नेपाल ल्याउने तयारी भइरहेको बताएका छन् ।

२०८३ मंसिर ५ शनिबार, बेलुकी ५:३६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । भारतको बनारसबाट अपहरणमा परेका धनुषाका चन्दन यादवलाई प्रतिनिधिसभा सदस्य राम विनोद यादवको विशेष पहलमा अपहरणमुक्त गराउन सफलता मिलेको छ ।
धनुषाको शहीदनगर नगरपालिका–२, मतौना निवासी प्रमानन्द यादवका छोरा चन्दन भन्ने रामकृष्ण यादवलाई सांसद यादवले प्रहरी प्रशासन तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल गरेपछि भारतको बनारसबाट उद्धार गर्न सफल भएको दाबी गरिएको छ ।
काठमाडौंस्थित सेन्ट जेभियर्स कलेजमा कक्षा १२ मा अध्ययनरत चन्दन पर्व मनाउन घर आएका थिए । पर्व सकेर काठमाडौं फर्किने क्रममा बालकुमारी पुल क्षेत्रबाट ट्याक्सी चढेर शान्तिनगरस्थित आफ्नो कोठातर्फ जाने क्रममा उनी सम्पर्कविहीन भएका थिए ।
चन्दन लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारले खोजतलास सुरु गरेको थियो । पछि उनी अपहरणमा परेको तथ्य सार्वजनिक भएपछि सांसद यादवले उनको खोजी तथा उद्धारका लागि प्रहरी प्रशासन र नेपाल तथा भारतका सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्दै आएका थिए ।
सांसद यादवले प्रेस विज्ञप्तिमार्फत चन्दनलाई अपहरणमुक्त गराउन सफलता प्राप्त भएको जानकारी दिँदै आवश्यक प्रक्रिया पूरा गरी सकुशल नेपाल ल्याउने तयारी भइरहेको बताएका छन् ।
उनले उद्धार तथा खोजी कार्यमा सहयोग गर्ने भारत सरकार, भारतीय प्रहरी प्रशासन, नेपाल सरकार, गृह मन्त्रालय, नेपाल प्रहरी तथा जिल्ला प्रहरी कार्यालय धनुषालगायतका निकायलाई धन्यवाद दिएका छन् ।
चन्दनलाई नेपाल ल्याएपछि परिवारसँग पुनर्मिलन गराउने र उनको स्वास्थ्य, सुरक्षा तथा मनोवैज्ञानिक अवस्थालाई ध्यानमा राखेर आवश्यक संरक्षण र सहयोग प्रदान गर्न पनि सांसद यादवले सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…