मधेशमा नयाँ सरकार गठनको कसरत, तीन दलबीच सहमतिको प्रयास
मधेश प्रदेशसभामा कुल १०७ सदस्य रहने व्यवस्था भए पनि हाल १०३ जना सदस्य कायम रहेको छ । यस्तो अवस्थामा नयाँ सरकार गठनका लागि दलहरूबीचको समीकरण निर्णायक बन्ने देखिएको छ ।

२०८३ मंसिर ३ बिहीबार, बेलुकी ६:५८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच दौडधुप तीव्र भएको छ ।
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मन्त्रीहरूले सरकार छाडेपछि अल्पमतमा परेको नेपाली कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री यादवले गत कात्तिक २८ गते प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका थिए ।
प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि मंसिर ४ गते अपराह्न ४ बजेसम्मको समय दिएका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिएको छ ।
नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच यसअघि नै सहमति भएको बताइएको छ । यद्यपि, सरकारको नेतृत्व र मन्त्रालय बाँडफाँटलगायतका विषयमा अन्तिम सहमति हुन बाँकी छ ।
नेकपा एमालेको काठमाडौंमा राष्ट्रिय भेला जारी रहेकाले नयाँ सरकार गठनबारे बिहीबार बिहानसम्ममा थप सहमति जुट्ने अपेक्षा गरिएको छ ।
मधेश प्रदेशसभामा बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक छ । उपलब्ध विवरणअनुसार जसपा नेपालका २७, एमालेका २३, जनमत पार्टीका १३ र नेपाली कम्युनिष्ट पार्टीका १५ जना प्रदेशसभा सदस्य छन् ।
त्यस्तै, नेपाली कांग्रेसका २२, संघीय समाजवादी पार्टीका एक र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना प्रदेशसभा सदस्य छन् ।
प्रदेशसभामा कुनै पनि दुई दल मिलेर बहुमत पुर्याउन सक्ने अवस्था नरहेकाले नयाँ सरकार गठनका लागि कम्तीमा तीन दलबीच गठबन्धन आवश्यक देखिएको छ ।
मधेश प्रदेशसभामा कुल १०७ सदस्य रहने व्यवस्था भए पनि हाल १०३ जना सदस्य कायम रहेको छ । यस्तो अवस्थामा नयाँ सरकार गठनका लागि दलहरूबीचको समीकरण निर्णायक बन्ने देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…