निर्मलाको सँगै 'सोनाली' को लागि पनि आवाज उठनुपर्छ !
दुश्कर्म गरियो र त्यसपछि हत्या गरी निर्वस्त्र गरी खेतमा फालियो । यसको लागि एक आवाज पनि उठेन किन ?

२०७५ भदौ ३० शनिबार, दिउँसो १२:२८ बजे३ मिनेट पढाइ

सम्पादकीय ||
अहिले निर्मला काण्ड देशभरिमै चर्चाको विषय बनेको छ । ठुल ठुला भिआइपीको प्रत्यक्ष वा अप्रत्यक्ष सँलग्नताले निर्मला काण्ड झन पेचिलो बनेको अवस्था छ ।
कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तलाई बलात्कार गरी हत्या गरेर उखुँ बारीमा फालेको थियो । त्यो प्रकरणमा प्रहरीको कामकारवाहीमै खोट देखिएपछि आन्दोलन समेत उग्र भएर मानवीय क्षति समेत हुन पुग्यो ।
निर्मलाको बलात्कारपछि हत्या गरेर फाल्दा जो सुकैको मनमा उग्र आक्रोस स्वभाविक हो । निर्मलासँग न्याय हुनुपर्छ भनेर आम नागरिक सडकमा ओर्लेपछि प्रहरीले अन्धाधुन गोली पनि नचालएको होइनन् । घटनाको अनुसन्धानमा आरोपित वा थोरै नाकारात्मक सँलग्नता देखिएपछि प्रहरीका वरिष्ठ पदाधिकारीलाई पनि निलम्बको लागि माग गरियो । आन्दोलन झन चर्कियो र देशभरिबाटै निर्मलाको न्यायको लागि आवाज बुलन्द हुन पुगेको छ ।
तर, महोत्तरीमा ९ महिने शिशुसँग दुश्कर्म पश्चात हत्या गरी फालियो, त्यो घटनाको बारेमा किन देश सुतेको छ ? निर्मला जस्तै कैयौँ बालिका नरपिसाचको मुखमा पर्ने गरेको घटना बाहिरिँदै आएको छ । केही महिना अघि मात्र धनुषाको शहिदनगर नगरपालिकामा एक दलित बालिकालाई सामुहिक बलात्कार गरी भिडियो समेत बनाएर कसैलाई भनेपछि ज्यान मार्ने धम्की समेत दिए, तर कसैले सुनेन । बलात्कारी अझै फरार छ र प्रहरी कानमा तेल हालेर सुतेकै हो ।
त्यसरी नै गत भदौ १० गते ९ महोत्तरी औरही नगरपालिका वडा नं. १ की ९ महिने शिशु सोनाली चौधरीलाई अपहरण गरियो । दुश्कर्म गरियो र त्यसपछि हत्या गरी निर्वस्त्र गरी खेतमा फालियो । यसको लागि एक आवाज पनि उठेन किन ? कहाँ गए ती मानवअधिकार कर्मी जो की निर्मला प्रकरणमा त्यतिको चासो देखाएका छन्, कहाँ गइन ती महिला अधिकारकर्मी र बलात्कारीलाई फाँसी दे भनेर चर्को नारा लगाउने अगुवा आवाजधारीहरु ? के सोनालीले पीडा भोगीनन की उनको परिवार नै पत्थरको ? निर्मलासँग न्याय हुनुपर्छ र यसको लागि चौतर्फी दबाब र आवाज अति आवश्यक छ, यस्तै, ती अबोध शिशुको लागि पनि आवाज उठनु जरुरी छ की छैन ? सोनाली चौधरी गौन किन ?
यस घटना सम्बन्धी समाचारहरु















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…