भाईरल रेकर्ड प्रकरणः आफूलाई सई हुँ भनी आफ्नै प्रहरीसँग धाक लगाउने हलबल्दार बुधन महतो कारवाहीमा
छोरा हराएको पीडामा खोजी तथा उद्धारका लागि सहयोग माग्न प्रहरी कार्यालयमा फोन गरेका कर्मचारीले आफ्नै सहकर्मीबाट

२०८३ मंसिर ७ सोमबार, दिउँसो ४:५८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, रौतहट । आफ्नै सहकर्मी प्रहरी कर्मचारीलाई फोनमार्फत अपमानजनक गालीगलौज गर्ने रौतहटको जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत प्रहरी हवल्दार बुधन महतो निलम्बनमा परेका छन् ।
हराएको छोरा खोजिदिन आग्रह गर्दै प्रहरी कार्यालयमा फोन गरेका अर्का प्रहरी हवल्दार सुरेशप्रसाद यादवलाई गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि महतोमाथि कारबाही गरिएको हो ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले घटनाको छानबिन गर्दै आइतबार महतोलाई निलम्बन गरी विभागीय कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार घटनामा प्रयोग गरिएको भाषा, शब्द र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
घटनाअनुसार डुमरिया सुरक्षा बेसमा कार्यरत हवल्दार यादवका १७ वर्षीय छोरा चन्दनकुमार यादव छठ पर्व मनाउन घर आएका बेला गौरस्थित घरबाट हराएका थिए । छोराको खोजीका लागि यादवले जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा फोन गरेका थिए ।
कन्ट्रोल रुमबाट सञ्चार शाखामा जानकारी गराउन भनिएपछि यादवले पुनः फोन गरेका थिए । सोही क्रममा सञ्चार शाखामा कार्यरत हवल्दार महतोले आफूलाई प्रहरी नायब निरीक्षक (सई) बताउँदै ‘जय नेपाल’ नभनेको भन्दै यादवमाथि अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेको आरोप छ ।
घटनाको अडियो सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले दुवै प्रहरी कर्मचारीलाई जनकपुर बोलाएर सोधपुछ गरेको थियो । घटनाबारे सत्यतथ्य छानबिन गरी प्रहरी नियमावलीअनुसार विभागीय कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
छोरा हराएको पीडामा खोजी तथा उद्धारका लागि सहयोग माग्न प्रहरी कार्यालयमा फोन गरेका कर्मचारीले आफ्नै सहकर्मीबाट दुर्व्यवहार भोग्नुपरेको घटना सार्वजनिक भएपछि प्रहरी संगठनभित्रको आचरण र जवाफदेहितामाथि समेत प्रश्न उठेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…