दशैँभरि महिला निषेध हुने राजदेवीको गर्भगृहमा युवतिको टिकटोक, आयोजक नाचगानमा व्यस्त, जिम्मेवार को ?
जिल्ला प्रहरी कार्यालय धनुषाले भने यसबारे कुनै उजुरी, समितिको उजुरी नआएको दाबी गरे ।

२०८३ असोज ३१ शनिबार, राति ८:३९ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दशैँभरि महिलालाई प्रवेश निषेध गरिँदै आएको जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरको गर्भगृहमा एक युवती प्रवेश गरेर टिकटक भिडियो बनाएको भनिएको घटना सार्वजनिक भएपछि मन्दिरको सुरक्षा व्यवस्था र नियम कार्यान्वयनको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठेको छ ।
राजदेवी मन्दिरमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई भित्री भागमा प्रवेश गर्न नदिने परम्परा छ । यस अवधिमा महिला दर्शनार्थीले मन्दिरको झ्यालबाट पूजा गर्ने व्यवस्था रहेको छ । यो परम्परा वर्षौँदेखि कायम रहेकोमा शुक्रबार दिउँसो एक युवतिले गर्भगृहमै पसेर टिकटोक भिडियो बनाएको पाईएको छ ।
यद्यपी, भिडियो दशैँ अवधीमा खिचिएको वा पुरानो रहेको स्पष्ट छैनन् । गुडिया नामक एक टिकटोक आईडीमा शुक्रबार अपलोड गरिएको हो । सो भिडियो नयाँ नै रहेको दाबी गरिएको छ ।
दशैँको १० दिनसम्म (मात्र) महिलालाई प्रवेश निषेध गरिएको भनिएको राजदेवी मन्दिरको गर्भगृहमा युवती प्रवेश गरेर भिडियो बनाएको घटनाले पुरानो परम्परा, मान्यतालाई लत्याएको छ ।
गर्भगृह (गहबर) मा दशैँ अवधीमा पसेर युवतीले नियम उल्लङ्घन गरिन् कि गरिनन् भन्नेमा मात्र सीमित रहँदैन । मन्दिरको प्रवेश व्यवस्थापन, निगरानी र सुरक्षाको जिम्मेवारी लिएका पक्षले आफ्नो दायित्व कसरी निर्वाह गरिरहेका छन् भन्ने छताछुल्ल भएको छ ।
महिलालाई रोक्ने, गर्भगृहको निगरानी कसले गर्ने ?
दशैँका बेला राजदेवी मन्दिरमा हजारौँ श्रद्धालु पुग्छन् । भीड व्यवस्थापन, दर्शनार्थीको आवागमन र धार्मिक विधिको मर्यादा कायम राख्न मन्दिर व्यवस्थापन समिति तथा आयोजक पक्षले विशेष तयारी गर्ने गरेका छन् । यस वर्ष पनि मन्दिरमा सुरक्षा, दर्शन व्यवस्थापन र निगरानीका लागि व्यवस्था मिलाइएको छ ।

यस्तो अवस्थामा गर्भगृहसम्म पुगेर भिडियो बनाइएको भनिएको घटनाले ती व्यवस्था कति प्रभावकारी छन् भन्ने प्रश्न उठाएको छ । यदि प्रवेश निषेधको नियम छ भने त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी पनि कसै न कसैको हुन्छ । प्रवेशद्वारमा निगरानी, स्वयंसेवक परिचालन र गर्भगृहको सुरक्षा व्यवस्थापन प्रभावकारी थियो भने निषेधित क्षेत्रमा प्रवेश कसरी सम्भव भयो ? भनेर प्रश्न उठेको छ ।
मन्दिरको नियम कार्यान्वयन गराउने जिम्मेवारी लिएका पक्ष भनिएका महावीर युवा कमिटीले यसबारे सम्पर्कमा आउन चाहेनन् ।
परम्पराको नाममा नियम, कार्यान्वयनमा कमजोरी ?
राजदेवी मन्दिरमा दशैँभरि महिलालाई प्रवेश निषेध गर्ने परम्परा आफैँमा लामो समयदेखि बहसको विषय रहँदै आएको छ । धार्मिक आस्थाका आधारमा यसलाई निरन्तरता दिनुपर्ने पक्ष र महिलामाथि विभेद हुने भन्दै यसको पुनरावलोकन गर्नुपर्ने पक्षबीच मतभिन्नता छ ।
यस्तो संवेदनशील विषयमा मन्दिरको नियमलाई आधार बनाएर महिलालाई रोक्ने तर सोही स्थानको सुरक्षा र निगरानीमा कमजोरी देखिने अवस्था उत्पन्न हुन्छ भने व्यवस्थापनको जवाफदेहितामाथि प्रश्न उठ्नु स्वाभाविक हो ।
युवतीले निषेधित क्षेत्रमा प्रवेश गरेकी हुन् भने घटनाको वास्तविकता छानबिन हुनुपर्छ । तर, उनलाई मात्र दोषी ठहर गरेर व्यवस्थापनको जिम्मेवारीबाट सम्बन्धित पक्ष उम्किन मिल्दैन । प्रवेश नियन्त्रण गर्ने व्यवस्था कसले गरेको थियो, निगरानीमा को खटिएका थिए र घटना हुँदा जिम्मेवार पक्ष कहाँ थियो भन्ने प्रश्नको जवाफ आवश्यक छ ।
जिम्मेवारी कसले लिने ? पूजारी की समिति ?
घटनाको सत्यता, भिडियोको स्थान र समय तथा युवती गर्भगृहसम्म कसरी पुगिन् भन्ने विषय खुलेको छैन। भिडियोमा पुजारीले उनलाई अनुमति दिएको देखिएको छ ।
मन्दिरमा निषेधित क्षेत्रको सुरक्षा कसरी गरिन्छ, मोबाइल तथा भिडियो रेकर्डिङसम्बन्धी नियम के छन् र नियम उल्लङ्घन भएको अवस्थामा कसले जिम्मेवारी लिन्छ भन्ने विषयमा महावीर युवा कमिटिको जवाफ आएको छैनन् ।
“धार्मिक स्थलको मर्यादा कायम राख्नु महत्त्वपूर्ण हो । तर मर्यादाको नाममा नियम घोषणा गरेर त्यसको कार्यान्वयन र निगरानीको जिम्मेवारी बेवास्ता गर्न मिल्दैन । राजदेवी मन्दिरको गर्भगृहमा युवती प्रवेश गरेर टिकटक बनाएको भनिएको घटना सत्य हो भने , महिलालाई प्रवेश निषेध गर्ने नियम लागू गराउने व्यवस्थापनले गर्भगृहको सुरक्षा सुनिश्चित गर्न नसकेको हो भने त्यसको जिम्मेवारी कसले लिने ?– जनकपुरका गौत्तम झाले भने ।
उनले हरेक मठ मन्दिर, धार्मिक स्थलमा आ–आफ्नो नियम निष्ठा, मान्यता, परम्परा भएकोले राजदेवीमा भएको परम्परा ब्रेकप्रति सम्बन्धित निकायले छानबिन तथा कारवाही प्रक्रिया अगाडी बढाउनुपर्ने माग झाले राखे ।
जिल्ला प्रहरी कार्यालय धनुषाले भने यसबारे कुनै उजुरी, समितिको उजुरी नआएको दाबी गरे ।
ज्ञातव्य छ, केही दिन अगाडी मात्र काठमान्डौँको पशुपतिनाथ मन्दिरमा गैर–हिन्दु प्रवेश निषेध क्षेत्रमा प्रवेश गरेपछि दुई जनालाई थुनामा राखिएको छ । पशुपतिको परम्परा तोडेको भन्दै कारवाही भएको सर्वविदितै छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…