लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्षमा सुधार, नयाँ व्यवस्थापनसहित सेवा सुरु
कल्याणपुर नगरपालिकाका बिरामी मनोजकुमार साहले यसअघि अस्पतालको इमर्जेन्सी कक्षमा उपचारका लागि आउँदा निकै कठिनाइ हुने गरेको बताए। साँघुरो ठाउँ, अत्यधिक गर्मी र सरसफाइको समस्याले उपचारका क्रममा असहज हुने गरेको उल्लेख गर्दै उनले अहिले व्यवस्थापनमा सुधार आएपछि सहज भएको बताए।

२०८३ असोज ३१ शनिबार, बेलुकी ६:२२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्षलाई नयाँ व्यवस्थापनसहित सञ्चालनमा ल्याइएको छ।
लामो समयदेखि अव्यवस्थित रहेको इमर्जेन्सी कक्षको सुधार गरी सञ्चालनमा ल्याइएपछि बिरामी तथा स्वास्थ्यकर्मीले राहत महसुस गरेका छन्।
अस्पतालले बिरामीकै हातबाट रिबन काटेर इमर्जेन्सी कक्षको उद्घाटन गरेको हो।
यसअघि साँघुरो ठाउँ, अत्यधिक गर्मी, वर्षात्का बेला पानी चुहिने तथा सरसफाइ व्यवस्थापनमा देखिएका समस्याका कारण बिरामीलाई उपचार सेवा लिन र चिकित्सकलाई सेवा प्रदान गर्न कठिनाइ हुँदै आएको थियो।
इमर्जेन्सी कक्षको व्यवस्थापन सुधार भएपछि उपचारका लागि आउने बिरामीले पहिलेको तुलनामा सहज वातावरणमा सेवा पाउन थालेका छन्।
कल्याणपुर नगरपालिकाका बिरामी मनोजकुमार साहले यसअघि अस्पतालको इमर्जेन्सी कक्षमा उपचारका लागि आउँदा निकै कठिनाइ हुने गरेको बताए। साँघुरो ठाउँ, अत्यधिक गर्मी र सरसफाइको समस्याले उपचारका क्रममा असहज हुने गरेको उल्लेख गर्दै उनले अहिले व्यवस्थापनमा सुधार आएपछि सहज भएको बताए।
त्यस्तै, लहान नगरपालिकाका मङ्गैन यादवले पनि पहिले इमर्जेन्सी कक्षमा पानी चुहिने र सेवा प्रवाहमा ढिलाइ हुने समस्या रहेको बताए। अहिले भने पहिलेको तुलनामा सेवा र व्यवस्थापन दुवै पक्षमा सुधार देखिएको उनको भनाइ छ।
इमर्जेन्सी कक्षका इन्चार्ज दीपेन्द्रप्रसाद सिंहका अनुसार यसअघि कक्ष साँघुरो हुनुका साथै सिलिङको अभावमा अत्यधिक गर्मी हुने गरेको थियो। जस्तापाताबाट पानी चुहिने समस्याले वर्षात्का बेला बिरामीको उपचारमा समेत कठिनाइ हुने गरेको उनले बताए।
मेडिकल सुपरिटेन्डेन्ट डा। वर्षा प्रकाशले जिम्मेवारी सम्हालेपछि अस्पतालमा सुधारका कामले गति लिएको सिंहको भनाइ छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाशका अनुसार इमर्जेन्सी सेवा लामो समयदेखि सञ्चालनमा रहे पनि कक्ष अव्यवस्थित हुँदा बिरामीको चाप बढेका बेला सेवा व्यवस्थापन गर्न समस्या हुने गरेको थियो। त्यसलाई मध्यनजर गर्दै पुरानै कक्षलाई व्यवस्थित बनाएर सञ्चालनमा ल्याइएको उनले बताए।
इमर्जेन्सी कक्षको सुधारअन्तर्गत जस्तापाता फेर्ने, विद्युतीय व्यवस्थापन, रङ्गरोगन, स्क्रिनिङ तथा आवश्यक फर्निचर सामग्रीको व्यवस्था गरिएको डा. प्रकाशले जानकारी दिए। यसबाट बिरामीलाई उपचार सेवा लिन र चिकित्सकलाई सेवा प्रदान गर्न सहज हुने उनले विश्वास व्यक्त गरे।
विगतमा विभिन्न कारणले चर्चामा रहँदै आएको लहान प्रादेशिक अस्पतालमा पछिल्लो समय भौतिक पूर्वाधार तथा सेवा व्यवस्थापन सुधारका प्रयास भइरहेका छन्।
इमर्जेन्सी कक्षको व्यवस्थापनमा गरिएको सुधारले बिरामीलाई सहज, व्यवस्थित र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…