जनकपुरको होटलमा झिझियाको नाममा डान्डियाको व्यापार ! जोडीलाई ७०० को टिकट, संस्कृति कि व्यापार ?
झिझियालाई कार्यक्रमको नाममा जोड्दैमा त्यसको संरक्षण हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि महत्त्वपूर्ण छ । स्थानीय कलाकारलाई कति अवसर दिइन्छ ? परम्परागत झिझिया नृत्यको मौलिकता कति प्रस्तुत गरिन्छ ? मिथिलाको सांस्कृतिक इतिहास र यसको महत्त्वबारे नयाँ पुस्तालाई कति जानकारी दिइन्छ ? यस्ता प्रश्नको जवाफ कार्यक्रमको वास्तविक स्वरूपले दिनुपर्नेछ ।

२०८३ असोज ३१ शनिबार, दिउँसो १२:१२ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मिथिलाको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्ने दाबी गर्दै जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ आयोजना हुन लागेको छ । तर, मिथिलाकै परम्परागत लोकनृत्य झरी र झिझियाको संरक्षणमा अपेक्षित ध्यान नदिइएको गुनासो भइरहेका बेला धार्मिक तथा सांस्कृतिक भावनालाई मनोरञ्जनको आकर्षण बनाएर महँगो टिकट बिक्री गर्न लागिएको भन्दै प्रश्न उठ्न थालेको छ ।
हेरिटेज मिथिलाको प्रस्तुतिमा आगामी कार्तिक ४ गते जनकपुरधामस्थित होटल कौशल्यामा आयोजना हुने कार्यक्रममा सहभागी हुन एकल टिकटको मूल्य ३९९ रुपैयाँ र जोडी टिकटको मूल्य ६९९ रुपैयाँ तोकिएको छ । साँझ ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने कार्यक्रममा डान्डिया र झिझिया नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
मिथिलाको मौलिक संस्कृति जोगाउने नाममा आयोजना हुने कार्यक्रममा स्थानीय परम्पराको प्रवर्द्धन कति हुन्छ र बाहिरबाट आएको सांस्कृतिक शैलीको व्यावसायिक प्रस्तुति कति ?– भनेर प्रश्न समेत उठेको छ ।
दुईचारदिन अगाडी मात्र जनकपुरको एक होटलमा आयोजना गरिएको डान्डीया कार्यक्रममा आयोजकले भरपुर घाटा बेहोर्नुपरेको जनाईएको छ । मिथिला सँस्कृतिसँग आवद्ध नै नरहेको डान्डीया व्यापारिक रुपमा गर्न थालिएको टिप्पणी पनि गरिएको छ ।
डान्डिया मुख्यतः भारतको गुजरातसँग जोडिएको परम्परागत लोकनृत्य हो । नवरात्रिका अवसरमा गरिने यो नृत्यको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्त्व छ । त्यसैगरी, मिथिलामा झिझिया नृत्यको विशिष्ट सांस्कृतिक पहिचान छ । विशेषगरी दसैँको समयमा महिलाहरूले टाउकोमा प्वाल पारिएको घैँटो राखेर देवी दुर्गासँग सम्बन्धित गीत गाउँदै झिझिया नृत्य गर्ने परम्परा छ । मिथिलाको लोकविश्वास, धार्मिक आस्था र सामुदायिक जीवनसँग जोडिएको यो परम्परा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको छ ।
जनकपुरधामजस्तो मिथिलाको सांस्कृतिक केन्द्रमा स्थानीय लोकनृत्य र परम्पराको संरक्षणलाई प्राथमिकता दिनुपर्ने हो । तर, स्थानीय मौलिक संस्कृतिको प्रवर्द्धनका नाममा आयोजना हुने कार्यक्रमको मुख्य आकर्षण डान्डिया बन्ने र त्यसका लागि सयौँ रुपैयाँको टिकट बिक्री गरिने भएपछि आयोजकको प्राथमिकतामाथि बहस हुनु स्वाभाविक हो ।
झिझियालाई कार्यक्रमको नाममा जोड्दैमा त्यसको संरक्षण हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि महत्त्वपूर्ण छ । स्थानीय कलाकारलाई कति अवसर दिइन्छ ? परम्परागत झिझिया नृत्यको मौलिकता कति प्रस्तुत गरिन्छ ? मिथिलाको सांस्कृतिक इतिहास र यसको महत्त्वबारे नयाँ पुस्तालाई कति जानकारी दिइन्छ ? यस्ता प्रश्नको जवाफ कार्यक्रमको वास्तविक स्वरूपले दिनुपर्नेछ ।
धर्म र संस्कृतिको नाममा कार्यक्रम आयोजना गर्नु आफैँमा गलत होइन । सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न खर्च लाग्छ र टिकट बिक्री गर्नु पनि अस्वाभाविक होइन । तर, संस्कृति संरक्षणलाई मुख्य उद्देश्यका रूपमा प्रस्तुत गरिन्छ भने त्यसको लाभ स्थानीय कलाकार, लोकसंस्कृति र सांस्कृतिक समुदायसम्म पुग्ने व्यवस्था पनि देखिनुपर्छ ।
एकल टिकट ३९९ रुपैयाँ र जोडी टिकट ६९९ रुपैयाँ तोकिएको कार्यक्रममा निम्न आय भएका परिवार तथा विद्यार्थीको पहुँच कस्तो हुन्छ भन्ने प्रश्नसमेत उठ्छ । टिकटबाट उठेको रकमको कति हिस्सा कलाकारको पारिश्रमिक, स्थानीय संस्कृतिको प्रवर्द्धन र मौलिक नृत्यको संरक्षणमा खर्च हुन्छ भन्ने विषय आयोजकले स्पष्ट पार्न सके कार्यक्रमको उद्देश्यप्रति विश्वास बढ्न सक्छ ।
मिथिलाको संस्कृति कुनै उत्सवको नाममा प्रयोग गरिने आकर्षक शब्द मात्र होइन । यो यहाँका समुदायको पहिचान, इतिहास र जीवनशैली हो । त्यसैले स्थानीय संस्कृतिको नाममा कार्यक्रम आयोजना गर्ने संस्थाले व्यावसायिक लाभसँगै त्यसको संरक्षणप्रतिको जिम्मेवारी पनि बहन गर्नुपर्छ ।
जनकपुरधाममा डान्डिया आयोजना हुनुमा आपत्ति गर्नुपर्ने कारण छैन । तर, गुजरातको डान्डियालाई आकर्षक बनाएर प्रस्तुत गर्ने क्रममा मिथिलाको आफ्नै झिझिया र झरी नृत्य ओझेलमा पर्छन् भने संस्कृति संरक्षणको दाबीमाथि प्रश्न उठ्नु स्वाभाविक छ ।
अन्ततः प्रश्न डान्डिया नाच्न हुने कि नहुने भन्ने होइन । प्रश्न हो, मिथिलाको संस्कृति संरक्षण गर्ने नाममा आयोजना गरिएको कार्यक्रमले मिथिलाकै मौलिक परम्परालाई कति स्थान दिन्छ ? संस्कृति बजारको आकर्षण मात्र बन्ने कि नयाँ पुस्तामा हस्तान्तरण हुने आधार पनि तयार गरिनेछ ?
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…