जनकपुर चुरोट कारखानाले २१ दिनभित्र कर्मचारी, ग्राहक, सरोकारबालालाई दाबी पेस गर्न गर्यो आह्वान
तोकिएको समयभित्र कुनै दाबी नपरे प्रचलित कानुनबमोजिम प्रक्रिया अगाडि बढाइने र त्यसपछि उद्योगउपर कुनै दाबी नलाग्ने बेहोरासमेत सूचनामा उल्लेख गरिएको छ ।
२०८३ असोज २६ सोमबार, बिहान ८:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको जनकपुर चुरोट कारखाना लिमिटेडले कारखानासँग सम्बन्धित दाबी पेस गर्न सरोकारवालालाई २१ दिनको समय दिएको छ ।
कारखानाले सोमबार सार्वजनिक सूचना जारी गर्दै ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालालाई आफ्नो लेनदेन, कारोबार र दायित्वसम्बन्धी दाबी प्रमाणसहित पेस गर्न आह्वान गरेको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२/१०/१५ को निर्णयअनुसार कारखानामा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीमार्फत कारखानाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (ड्यु डिलिजेन्स अडिट–डीडीए) सम्बन्धी कार्य सम्पन्न भइसकेको सूचनामा उल्लेख छ ।
कारखानासँग कारोबार गरेका व्यक्ति वा संस्थाको लेनदेन, अदालत वा कुनै निकायबाट भएका फैसला तथा निर्णयबमोजिम तिर्नुपर्ने हरहिसाब, जग्गा रोक्का, बिमा, कर्मचारी सेवा सुविधालगायतका दायित्वसम्बन्धी कुनै दाबी भए प्रमाणसहित पेस गर्न भनिएको छ ।
त्यस्तै, उद्योगलाई तिर्न बाँकी बक्यौता वा उद्योगबाट पाउनुपर्ने रकम तथा अन्य दायित्व भएका व्यक्ति र संस्थाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र जनकपुर चुरोट कारखाना लिमिटेडको कार्यालयमा सम्पर्क गरी दाबी पेस गर्नुपर्नेछ ।
तोकिएको समयभित्र कुनै दाबी नपरे प्रचलित कानुनबमोजिम प्रक्रिया अगाडि बढाइने र त्यसपछि उद्योगउपर कुनै दाबी नलाग्ने बेहोरासमेत सूचनामा उल्लेख गरिएको छ ।
दाबी पेस गर्न इच्छुक व्यक्ति वा संस्थाले जनकपुर चुरोट कारखाना लिमिटेड, जनकपुर, धनुषामा सम्पर्क गर्न सक्नेछन् । सूचनामा सम्पर्क नम्बर ९८४५९०५००८ र इमेल ipdivisionmoics@gmail.com उपलब्ध गराइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
Anuja Das
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…