कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामद
प्रहरी निरीक्षक ठाकुरको नेतृत्वमा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध बरामद हुनुलाई लागूऔषध नियन्त्रण अभियानमा महत्त्वपूर्ण उपलब्धि

२०८३ असोज २५ आइतबार, बेलुकी ७:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । सशस्त्र प्रहरी बल नेपालका प्रहरी निरीक्षक अजय ठाकुरको कमाण्डमा खटिएको टोलीले मोरङमा तरकारीको बीचमा लुकाएर राखिएको करिब ५७० किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं। ३ गण हेडक्वार्टर कंकालिनी, मोरङअन्तर्गत बीओपी नोचाबाट खटिएको टोलीले असोज २४ गते जहदा गाउँपालिका–४ स्थित रामचोकबाट गाँजा बरामद गरेको हो ।
प्रहरी निरीक्षक ठाकुरको कमाण्डमा खटिएको टोलीले शंकास्पद अवस्थामा रहेको प्रदेश १–०१–०० च ७४२२ नम्बरको महेन्द्र पिकअप भ्यानलाई जाँच गर्न खोजेको थियो । तर, चालक गाडी छाडेर फरार भएपछि भ्यान जाँच गर्दा तरकारीको बीचमा लुकाइएका १९ पोका गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गाँजाको तौल करिब ५७० किलो रहेको छ । गाँजा र पिकअप भ्यानलाई बीओपी नोचामा ल्याई आवश्यक कानुनी प्रक्रियाका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
बीओपी नोचाको कमाण्ड सम्हालेको एक साता पनि नबित्दै प्रहरी निरीक्षक ठाकुरको नेतृत्वमा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध बरामद हुनुलाई लागूऔषध नियन्त्रण अभियानमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण तथा लागूऔषध कारोबारविरुद्ध सुरक्षा निकायको सक्रियता आवश्यक भइरहेका बेला ठाकुर नेतृत्वको टोलीको यो कारबाहीले सीमावर्ती क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्थाको महत्त्वलाई थप उजागर गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…