जनकपुरधामलाई मिथिला–मधेशको धार्मिक राजधानी मानिन्छ । राम–सीताको विवाहस्थल, जानकी मन्दिर, १२ बर्से मेला, छठ, झिझिया, विद्यापति पर्व जस्ता परम्परागत सांस्कृतिक कार्यकम यहाँका पहिचान हुन् । यही पवित्र नगरीमा सहरकै आत्मा
जनकपुरधामलाई मिथिला–मधेशको धार्मिक राजधानी मानिन्छ । राम–सीताको विवाहस्थल, जानकी मन्दिर, १२ बर्से मेला, छठ, झिझिया, विद्यापति पर्व जस्ता परम्परागत सांस्कृतिक कार्यकम यहाँका पहिचान हुन् । यही पवित्र नगरीमा सहरकै आत्मा जस्तै हिन्दु धर्मको आस्था बसिरहेको छ ।
भिझियामा विकृति र हिन्दु संगठनहरुको मौनता
झिझिया मूलतः नवरात्रको अवसरमा महिलाहरूले देवी दुर्गाको पूजाअर्चनासँगै नाच–गान गरेर गर्ने परम्परागत भक्ति–लोकनृत्य हो । यसमा मर्यादा, भक्ति, पवित्रता र सामूहिकतामा जोड दिइन्थ्यो । तर पछिल्ला वर्षहरूमा यही झिझिया नाममा भड्किला पहिरन, दोहोरो अर्थ लाग्ने गीत, छमछमी नृत्य र मदिरा–धुम्रपानको वातावरण देखिँदा मूल भावनै हराएको छ ।
हिन्दु देवी–देवताको मेला, पूजामा पनि आजकल ‘आरकेष्ट्रा’ नामको भड्किलो स्टेज–सांस्कृतिक कार्यक्रम राख्ने चलन बढेको छ । धार्मिक गानलाई पाश्चात्य तालमा बदल्ने, अपमानजनक शब्द र शैली प्रयोग गर्ने, नर्तकरनर्तकीलाई देवस्थल नजिकै राख्ने जस्ता अभ्यासले आस्थावान नागरिकमा आक्रोश बढाएको छ । अहिले पारम्पारिक झिझियाको नाममा हुने छाडापन र विकृतिले आस्थावानहरुप्रति बोझ बनेको छ । प्रायः यो अब मधेशको हरेक गाउँमा हुन थालेको छ ।
देवी–देवतालाई मनोरञ्जनको साधन बनाइने, पूजास्थलमा नृत्य–संगीतको ‘शो’ राख्ने, र भक्ति–गायनलाई व्यावसायिक गजलमा बदल्ने प्रवृत्तिले हिन्दु समाजको नैतिक जगमा धक्का पुर्याइरहेको छ । यो केवल सौन्दर्यको कुरा होइन, आस्था र श्रद्धासँग सीधा सम्बन्धित विषय हो । झिझियाको पारम्परिक गीतलाई तोडमोड गरी, अश्लिलता, छाडापन बनाएर प्रस्तुत गर्ने सँस्कृतिको विकास हुँदा हिन्दु धर्मको उपहास हुन थालको छ ।
यस्ता विकृति रोक्ने, संस्कृति जोगाउने भनेर धेरै संगठन बनेका छन् । तिनमध्ये ‘हिन्दु सम्राट नेपाल’ नामक संस्था आफैंलाई देशभरि हिन्दु धर्मको संरक्षक र सशक्त आवाजको रूपमा प्रस्तुत गर्दै आएको छ । यसको नाम सुन्दा नै ठूला अपेक्षाहरू जन्मिन्छन् — ‘सम्राट’ भन्ने शब्दले नेतृत्व, कठोर अनुशासन, परिणाम देखाउने क्षमता झल्काउँछ । तर व्यवहारमा असक्षमता देखाएको छ ।
जनकपुरसहित मिथिला मधेशको विभिन्न गाउँमा हुने भड्किला झिझियाको नाममा हुने छाडापन, विकृतिजन्य प्रकारको आरकेष्ट्रा टाइप झिझिया रोक्न यस संस्थाले कुनै ठोस कदम चालेको देखिँदैन । सार्वजनिक वक्तव्य, प्रेस विज्ञप्ति वा चेतनामूलक अभियान गर्ने सट्टा मौनता अपनाएको छ । यही मौनता यसको असक्षमता र असफलताको प्रमाण हो ।
स्थानीय प्रशासन र प्रहरीलाई दबाब दिने, विकृतिपूर्ण कार्यक्रममा रोक लगाउने वा वैकल्पिक मर्यादित सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने जस्ता पहल नगरेर ‘हिन्दु सम्राट नेपाल’ले आफ्नो उद्देश्य–आवरण मात्र देखाएको छ ।
झिझिया, गायक–नाच जस्ता कार्यक्रमहरूमा आजको युवापुस्ताको ठूलो सहभागिता छ । धार्मिक संस्कारको ज्ञान, मर्यादाको बुझाइ र सही परम्पराको परिचय दिनु संगठनको जिम्मेवारी हो, तर यो क्षेत्रमा पनि यो संस्था सुस्त छ ।
धर्म र संस्कृति जोगाउने दाबी गर्ने संगठनको मौनताले प्रश्न उठाउँछ — यदि आफ्नै शहरमा आफ्नै देवी–देवताको अपमानजनक प्रस्तुति हुँदा पनि यसले प्रतिक्रिया जनाउन सक्दैन भने यस संस्था अस्तित्वको औचित्य के हो ?
यस्ता विकृतिपूर्ण प्रस्तुति हेर्दै हुर्केका बालबालिकाले हिन्दु धर्मलाई मनोरञ्जन–स्रोत मात्र ठान्न थालेका छन् । भक्ति–आस्था भन्दा पनि ‘स्टेज शो’ र ‘डान्स’को रूपमा धार्मिक पर्व बुझ्ने पीढी बन्दैछ ।
स्थानीय मिडियाले पटक–पटक अश्लीलता र विकृतिप्रति समाचार बनाएको छ, बुद्धिजीवी र समाजसेवीले सामाजिक सञ्जालमा प्रश्न उठाएका छन् । तर संगठित रूपमा धार्मिक संस्थाहरूले नेतृत्व नगर्दा यो आवाज बिखरिएको छ । विकृतिलाई यसरी निर्मुल पार्न सकिन्छ की ?
१. झिझिया, नवरात्री र अन्य धार्मिक पर्वमा मर्यादित कार्यक्रमको ‘कोड अफ कन्डक्ट’ बनाउने ।
२. स्थानीय प्रशासनलाई आधिकारिक पत्र बुझाएर अनुशासन कायम गराउने ।
३. युवा र महिलाहरूलाई मौलिक परम्पराको बारेमा जानकारी दिँदै वर्तमान परिस्थितिले पार्ने नाकारात्मक प्रभावको बारेमा जानकारी दिने ।
४. मिडिया र सामाजिक सञ्जालमार्फत सकारात्मक–मर्यादित प्रस्तुति प्रोत्साहन गर्ने, चेतनामूलक भिडियो समाग्रीहरु बनाउने ।
यदि ‘हिन्दु सम्राट नेपाल’ले आफ्नो नामको अर्थपूर्णता चाहन्छ भने तत्काल स्पष्ट कार्ययोजना बनाउनुपर्छ — जनकपुर जस्ता केन्द्रमा धार्मिक पवित्रता कायम गर्न ठोस कदम, निगरानी र सचेतना अभियान सञ्चालन गर्नुपर्छ ।
अहिले पनि ढिलो भएको छैन । संगठनले निष्क्रियता त्यागेर नेतृत्व गर्ने हो भने अझै हिन्दु समाजको आस्था जोगाउन सकिन्छ । अन्यथा यो संस्था कागजमै सीमित हुने खतरा छ ।
जनकपुर र मिथिलाको धार्मिक–सांस्कृतिक पहिचान जोगाउने जिम्मा केवल सरकारको होइन, समाज र धार्मिक संस्थाको पनि हो । ‘हिन्दु सम्राट नेपाल’जस्ता संस्थाले नाम अनुसारको काम नगरेसम्म, विकृतिको रोकथाम र आस्था–संरक्षण सम्भव छैन । हिन्दु समाजले यो चुनौतीलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ, अनि मात्र आफ्नै धर्म–संस्कृति जोगाउन सकिन्छ ।