सबैला नगर अस्पताल सञ्चालनका लागि मातृका यादवले एक महिनाको तलब दिने, एम्बुलेन्स पनि हस्तान्तरण गर्ने
नगर अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै नगर प्रमुख यादवले नगरलाई सफा, स्वच्छ र व्यवस्थित बनाउन पनि नगरवासीको सहयोग आवश्यक रहेको उल्लेख गरे ।

२०८३ असोज ३१ शनिबार, बिहान १०:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सबैला । धनुषाको सबैला नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पतालका रूपमा सञ्चालनमा ल्याइएको छ । अस्पतालको समुद्घाटन प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री मातृका प्रसाद यादवले गरेका छन् ।
अस्पताल सञ्चालनका लागि सांसद यादवले आफ्नो एक महिनाको तलब उपलब्ध गराउने घोषणा गरेका छन् । साथै, आफू अध्यक्ष रहेको सहिद प्रतिष्ठानको एम्बुलेन्ससमेत नगरपालिकालाई हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद यादवले नगर अस्पताललाई व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउन सबै राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालालाई नियमित अनुगमन र सहयोग गर्न आग्रह गरे । स्थानीय नागरिकले आफ्नै क्षेत्रमा सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।
नगर प्रमुख कारीराम यादवले नगर अस्पताल सञ्चालनका लागि नगरपालिकाले पाँच करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए । अस्पताल सञ्चालनमा आएपछि सबैला नगरपालिका तथा आसपासका क्षेत्रका नागरिकलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने उनले विश्वास व्यक्त गरे ।
नगर अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै नगर प्रमुख यादवले नगरलाई सफा, स्वच्छ र व्यवस्थित बनाउन पनि नगरवासीको सहयोग आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा नगर उपप्रमुख रहिमा खातुन, प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेल, विभिन्न वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अगुवा र स्थानीयवासीको उपस्थिति थियो ।
१५ शय्याको नगर अस्पताल प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक स्वास्थ्य जनशक्ति, औषधि, उपकरण तथा अन्य सुविधाको व्यवस्थापन महत्त्वपूर्ण हुने देखिन्छ । अस्पतालको सेवा नियमित र गुणस्तरीय बनाउन सके स्थानीय नागरिकलाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…