दसैँको रौनकसँगै गायिका रश्मी रानीको नयाँ मैथिली गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक
नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले गीत तयार गरिएको
२०८३ असोज २५ आइतबार, बेलुकी ७:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मिथिलाको मौलिक संस्कृति, परम्परा र झिझिया नृत्यको उल्लास समेटिएको नयाँ मैथिली सांस्कृतिक गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक भएको छ । बडादसैँको आगमनसँगै मिथिलाञ्चलमा झिझियाको रौनक बढिरहेका बेला नटराज प्रोडक्सनले यो गीत दर्शक तथा स्रोतामाझ ल्याएको हो ।
गायिका रश्मि रानीको सुमधुर स्वरमा सजिएको गीतमा रोशन चिरागको शब्द र रोशन मिश्रको सङ्गीत संयोजन रहेको छ । गीतको भिडियोमा गीताञ्जली (सर्लाहीवाली) को आकर्षक अभिनय तथा नृत्य देख्न सकिन्छ । त्यस्तै, गोर्की, फूलकुमारी, पूजा, प्रियंका र प्रीतिले समूहमा मौलिक झिझिया नृत्य प्रस्तुत गरेका छन् ।
राजरोहित मैथिल र सन्तोष एक्टको संयुक्त निर्देशनमा तयार भएको भिडियोको छायाङ्कन रमेश जैसवाल, पप्पु र अवधेशले गरेका हुन् । कुशेश्वर दासले सम्पादन गरेको भिडियोको व्यवस्थापन राजन मिश्रले गरेका छन् । गीत निर्माणमा अनिला मिश्रको विशेष सहयोग रहेको छ भने रमौलवाली सांस्कृतिक मञ्च र विजयलक्ष्मी मिडिया फाउन्डेसनले सहयोग गरेका छन् ।
मिथिलाञ्चलमा दसैँको नवरात्र सुरु भएसँगै झिझिया नृत्यले विशेष महत्त्व पाउँछ । टाउकामा प्वाल भएको घैँटोमा दीप प्रज्वलित गरी महिलाहरूले सामूहिक रूपमा प्रस्तुत गर्ने यो नृत्य मिथिलाको विशिष्ट सांस्कृतिक पहिचानसमेत हो ।
धार्मिक आस्था, लोकविश्वास र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परासँग जोडिएको झिझियालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले गीत तयार गरिएको निर्माण पक्षले जनाएको छ ।
दसैँको उत्सवलाई थप सांगीतिक र सांस्कृतिक बनाउन आएको ‘झिझिया खेलबै हे सखी’ ले मिथिलाको लोकसंस्कृतिप्रेमी दर्शक तथा स्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।
नयाँ गीत ‘झिझिया खेलबै हे सखी’ नटराज प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ । दसैँको उल्लाससँगै मिथिलाको मौलिक झिझिया संस्कृतिको आनन्द लिन गीत हेर्नुहोस् र आफ्ना साथीभाइ तथा परिवारसँग पनि साझा गर्नुहोस् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
विजय ठाकुर
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…