धनुषाको महेन्द्रनगरमा मधेश प्रदेशकै पहिलो दुई आकाशे पुल निर्माण सम्पन्न
जनकपुरधाम–ढल्केवर ६ लेन सडकअन्तर्गत धनुषाको महेन्द्रनगर बजारमा दुईवटा आकाशे पुल निर्माण सम्पन्न भएका छन्। रङरोगन तथा सौन्दर्यीकरणको काम पूरा भएपछि चाँडै सर्वसाधारणका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
२०८३ कार्तिक १९ बिहीबार, बिहान ११:०८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमा पहिलोपटक निर्माण गरिएका दुईवटा आकाशे पुल धनुषाको महेन्द्रनगर बजारमा निर्माण सम्पन्न भएका छन्।
जनकपुरधाम–ढल्केवर ६ लेन व्यापारिक सडकअन्तर्गत क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर बजारमा निर्माण गरिएका यी पुलमा हाल रङरोगन तथा सौन्दर्यीकरणको काम भइरहेको छ।
काम पूरा भएपछि चाँडै सर्वसाधारणका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको सडक डिभिजन कार्यालय मुजेलिया, जनकपुरधामले जनाएको छ।
सडकमा पैदल यात्रुको चाप बढी हुने महिला विकास चोक र सखुवा चोकमा यी दुई पुल निर्माण गरिएका हुन्। यसै सडकखण्डको लक्ष्मीनिया गाउँपालिकामा तेस्रो आकाशे पुल पनि निर्माणाधीन अवस्थामा रहेको छ।
सडक डिभिजन कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर दरोगाप्रसाद साहका अनुसार तीनवटा आकाशे पुल निर्माणका लागि करिब १० करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। महिला विकास चोकको पुलका लागि ३ करोड ३५ लाख, सखुवा चोकको पुलका लागि ३ करोड ५७ लाख र लक्ष्मीनियाको पुलका लागि ३ करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ।
साइट इन्जिनियर उज्ज्वल झाका अनुसार प्रत्येक पुलको उचाइ ५.६ मिटर, लम्बाइ २९.४ मिटर र चौडाइ ३ मिटर रहेको छ।
लक्ष्मीनिया गाउँपालिकामा निर्माणाधीन तेस्रो पुलको काम पनि तीव्र गतिमा भइरहेको र मङ्सिर मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
पूर्व–पश्चिम राजमार्ग हुँदै जनकपुरधाम प्रवेश गर्ने प्रमुख सडकखण्ड भएकाले महेन्द्रनगर क्षेत्रमा दैनिक सयौँ पैदल यात्रुको आवतजावत हुने गरेको छ। महिला विकास चोक र सखुवा चोक आसपास हाटबजार, शैक्षिक संस्था तथा बस्ती रहेकाले सडक पार गर्न जोखिम हुने गरेको स्थानीयको भनाइ छ।
आकाशे पुल सञ्चालनमा आएपछि बालबालिका, विद्यार्थी, ज्येष्ठ नागरिक तथा सर्वसाधारणलाई सडक पार गर्न सहज हुने र सवारी दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मुकेश पण्डित
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…