मधेशमा सत्ता जोगाउने खेल : ओली- गगन संवादपछि प्रचण्डको दौडाहाले बढायो हलचल
सरकारलाई विश्वासको मत प्राप्त गर्न कम्तीमा ५२ सांसदको समर्थन आवश्यक

२०८३ कार्तिक १९ बिहीबार, बिहान १०:०७ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा परेको तीन साता बितिसक्दा पनि राजनीतिक निकास निस्कन सकेको छैन । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकार जोगाउन कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का शीर्ष नेताहरूबीच संवाद तीव्र बनेको छ ।
गत असोज ३० गते एमालेले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो । संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता भए पनि मुख्यमन्त्री यादवले अहिलेसम्म त्यसको प्रक्रिया अघि बढाएका छैनन् ।
यसैबीच नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मधेश प्रदेश दौडाहापछि केन्द्रमा सत्ता समीकरणबारे छलफलले गति लिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति गगनकुमार थापाबीच मधेश सरकारसहित समसामयिक राजनीतिक विषयमा लामो छलफल भएको छ ।
कांग्रेस स्रोतका अनुसार छलफल सकारात्मक रहेको छ । तीन दलबीच प्याकेजमै सहमति गरेर वर्तमान सरकारलाई निरन्तरता दिने प्रयास भइरहेको बताइएको छ ।
मुख्यमन्त्री कृष्णप्रसाद यादव पनि शीर्ष नेताहरूसँग छलफल गर्न बुधबार काठमाडौं पुगेका छन् । उनले आफ्नै नेतृत्वको सरकारले निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
‘म पनि अहिले काठमाडौंमै आइपुगेको छु । यहीँ शीर्ष नेताहरूको बीचमै सकारात्मक रूपमा छलफल भइरहेको छ,’ उनले भने ।
एमालेले यसअघि तीन दलीय सत्ता गठबन्धनबीच भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएको थियो । एमाले आफ्नै नेतृत्वमा सरकार बनाउन चाहिरहेको भए पनि अन्य दलहरू त्यसका लागि तयार देखिएका छैनन् ।
केही दिनअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष ओलीबीच भएको छलफलसमेत निष्कर्षमा पुग्न सकेन । जसपा नेपालभित्र पूर्वमुख्यमन्त्री सरोजकुमार यादव र जितेन्द्र सोनलबीच मुख्यमन्त्री बन्ने आकांक्षाले आन्तरिक प्रतिस्पर्धा बढाएको छ । जसपाले आफ्नै नेतृत्वमा सरकार गठन हुने अवस्था आए मात्रै सरकारमा सहभागी हुने अडान राखेको बताइएको छ ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा हाल १०३ सांसद छन् । सरकारलाई विश्वासको मत प्राप्त गर्न कम्तीमा ५२ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रदेशसभामा जसपा नेपालका २७, एमालेका २३, कांग्रेसका २२, नेकपाका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।
कांग्रेस, एमाले र नेकपाबीच सहमति भएमा उनीहरूको मात्रै ६० सांसद पुग्ने भएकाले वर्तमान सरकारलाई बहुमत जुटाउन सहज हुनेछ । यस्तो समीकरण बनेमा जसपा नेपाल र जनमत पार्टी प्रतिपक्षमा बस्नुपर्ने अवस्था आउन सक्छ ।
तीन दलबीचको छलफलले वर्तमान सरकारको निरन्तरता सुनिश्चित गर्छ वा मधेशमा नयाँ सत्ता समीकरणको ढोका खोल्छ भन्ने विषय भने शीर्ष नेताहरूबीच हुने अन्तिम सहमतिमा निर्भर देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…