विराटनगरः मृत व्यक्ति ६ महिनापछि घर फर्किए, परिवारले गरिसकेको थियो काजकिरिया
यस घटनापछि परिवारका सदस्य तथा जनप्रतिनिधि आवश्यक कानुनी प्रक्रिया र बीमाको रकम फिर्तासम्बन्धी परामर्शका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेका छन्।

२०८३ कार्तिक १३ शुक्रबार, बिहान ११:२१ बजे१ मिनेट पढाइ
न्यूज ब्युरो, मोरङ । मृत घोषणा गरिएका एक व्यक्ति ६ महिनापछि सकुशल घर फर्किएपछि मोरङमा अनौठो घटना सार्वजनिक भएको छ। परिवारले काजकिरिया गरिसकेको र दुर्घटना बीमाबापत ५ लाख रुपैयाँसमेत बुझिसकेको अवस्थामा ३७ वर्षीय पदमबहादुर राय जीवितै फर्किएका हुन्।
लेटाङ नगरपालिका निवासी पदमबहादुर गत २०८२ माघदेखि घरबाट बेपत्ता थिए। मानसिक अवस्था कमजोर रहेका उनी भौँतारिँदै भारतको पञ्जाब पुगेका थिए। त्यहाँ काम गर्दै आएका उनी गत कात्तिक ९ गते अचानक घर फर्किएका हुन्।
यसअघि गत जेठ २६ गते सुनसरीको बराहक्षेत्र नगरपालिका–४, चतरा–पकली सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक व्यक्ति घाइते भएका थिए। विराट टिचिङ अस्पतालमा उपचारका क्रममा जेठ २७ गते उनको मृत्यु भएको थियो।
पहिचान खुल्न नसकेको ती मृतकको हुलिया बेपत्ता पदमबहादुरसँग मिल्दोजुल्दो देखिएपछि उनका बुबा नारायण राय क्षेत्रीले शव आफ्नै छोराको भएको भन्दै सनाखत गरेका थिए। त्यसपछि परिवारले शवको अन्त्येष्टि गरी दुर्घटना बीमाबापत ५ लाख रुपैयाँसमेत प्राप्त गरेको थियो।
तर, काजकिरिया र अन्त्येष्टि गरिसकेको छोरा नै जीवित फर्किएपछि परिवारमा खुसीसँगै अर्को व्यक्तिको शव कसको थियो भन्ने गम्भीर प्रश्न खडा भएको छ। यस घटनाले शव पहिचान प्रक्रियामाथि समेत प्रश्न उठाएको छ।
पदमबहादुर घर फर्किएपछि इलाका प्रहरी कार्यालय लेटाङको टोलीले घटनाबारे जानकारी लिएको थियो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार बीमाबापत प्राप्त रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ।
उनले सरकारी अभिलेखमा शवलाई बेवारिसे व्यक्तिका रूपमा विवरण सच्याइने र जेठमा दुर्घटनामा परी मृत्यु भएका वास्तविक व्यक्तिको पहिचानका लागि पुनः अनुसन्धान गरिने बताएका छन्।
यस घटनापछि परिवारका सदस्य तथा जनप्रतिनिधि आवश्यक कानुनी प्रक्रिया र बीमाको रकम फिर्तासम्बन्धी परामर्शका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…