जनकपुरधाम–अयोध्या रेल सञ्चालनको तयारी तीव्र, भारतीय अधिकारी रेलसहित आज जनकपुर आउँदै
यद्यपि रेल सञ्चालनको नियमित तालिका, टिकट दर र सातामा कति दिन सेवा सञ्चालन हुने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी छ ।

२०८३ कार्तिक १९ बिहीबार, बिहान १०:२१ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम र भारतको अयोध्याधामलाई जोड्ने अन्तरदेशीय रेल सेवा सञ्चालनको तयारी तीव्र पारिएको छ । रेल सेवाको सुरक्षा तथा सञ्चालनसम्बन्धी अवस्था निरीक्षण गर्न भारतीय रेलवेका अधिकारीहरू बिहीबार रेलसहित नेपालको कुर्था आउने भएका छन् ।
भारतीय रेलवेका अधिकारीहरूको टोलीले नेपाल रेलवेका अधिकारीहरूसँग रेल सञ्चालन, सुरक्षा व्यवस्थापन तथा प्राविधिक पक्षबारे छलफल गर्ने बताइएको छ । रेल सेवाको सुरक्षासम्बन्धी स्थलगत जानकारी लिन टोली कुर्थास्थित नेपाल रेलवेको मुख्य जक्सनसम्म आउने तयारी छ ।
जनकपुरधामदेखि अयोध्याधामसम्मको रेलमार्ग करिब ४६४ किलोमिटर लामो हुनेछ । प्रस्तावित समयतालिकाअनुसार जनकपुरधामबाट छुट्ने रेल अर्को दिन बिहान अयोध्याधाम पुग्नेछ । यद्यपि रेल सञ्चालनको नियमित तालिका, टिकट दर र सातामा कति दिन सेवा सञ्चालन हुने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी छ ।
रेलवे अधिकारीहरूका अनुसार प्रारम्भिक योजनामा सातामा एक दिन शनिबार जनकपुरधामबाट अयोध्याका लागि रेल छुटाउने तयारी छ । जयनगरबाट छुटेको रेल मधुवनी, दरभंगा, सीतामढीलगायतका स्थान हुँदै गोरखपुर भएर अयोध्याधाम पुग्ने बताइएको छ ।
प्रस्तावित समयतालिकाअनुसार शनिबार दिउँसो १२ बजे अयोध्याधामबाट छुट्ने रेल आइतबार बिहान ५ बजे जनकपुरधाम आइपुग्नेछ । त्यसैगरी जनकपुरधामबाट सोमबार दिउँसो २ बजे छुट्ने रेल मंगलबार दिउँसो १२ बजे अयोध्याधाम पुग्ने गरी समय निर्धारण गर्ने तयारी रहेको जनाइएको छ ।
रेल सेवाको सुरक्षा व्यवस्थापनमा दुवै देशका रेलवे निकायको जिम्मेवारी छुट्टाछुट्टै रहनेछ । जयनगरदेखि जनकपुरधामसम्मको नेपाली भूभागमा नेपाल रेलवेले सुरक्षा दिनेछ भने भारतीय भूभागमा भारतीय रेलवेले सुरक्षा व्यवस्था मिलाउने अधिकारीहरूले बताएका छन् ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा जनकपुरधाम–अयोध्याधाम रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । उद्घाटन भारतको राजधानी नयाँदिल्लीबाट संयुक्त रूपमा गर्ने तयारी छ ।
यसैबीच नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिवको भ्रमणका क्रममा पनि यो रेल सेवाबारे छलफल हुने अपेक्षा गरिएको छ । नेपालका परराष्ट्र सचिव तथा अन्य अधिकारीहरूसँग हुने भेटवार्तामा दुई देशबीचको यातायात सम्पर्क र रेल सञ्चालनको विषयले प्राथमिकता पाउने बताइएको छ ।
प्रस्तावित रेलमा वातानुकूलित ९एसी०, स्लीपर र सामान्य श्रेणीका डिब्बा रहनेछन् । यसले धार्मिक तथा पर्यटकीय यात्राका लागि जनकपुरधाम र अयोध्याधामबीच सीधा सम्पर्क स्थापित गर्ने अपेक्षा गरिएको छ ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरधामबाट अयोध्यासम्म सञ्चालन गर्ने भनिएको बस सेवाको संयुक्त रूपमा शुभारम्भ गरेका थिए । तर उक्त सेवा एक वर्ष पनि नियमित सञ्चालन हुन सकेन ।
त्यसैले प्रस्तावित रेल सेवाको हकमा उद्घाटनभन्दा पनि नियमित सञ्चालन, यात्रुको सहजता, टिकटको पहुँच र दीर्घकालीन व्यवस्थापन महत्त्वपूर्ण हुने देखिन्छ । बस सेवा नियमित हुन नसकेको विगतको अनुभवले रेल सेवाको निरन्तरतामाथि पनि प्रश्न उठाएको छ ।
रेल सेवा नियमित रूपमा सञ्चालन हुन सके जनकपुरधाम र अयोध्याधामबीच धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्बन्ध थप प्रगाढ बन्ने र दुवै क्षेत्रको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…