पत्रकारलाई गाली गर्दै लेखेको स्ट्याट्स विवादपछि बाराका सहायक सिडिओले हटाए
उनले लेखेका थिए, ‘हजरत बमके घोडे पे सवार है । न पत्र हे, न कार हे, फिर भी पत्रकार हे ।’

२०८३ कार्तिक १८ बुधबार, राति ८:३२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, बारा । जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले पत्रकारलाई लक्षित गर्दै फेसबुकमा लेखेको विवादास्पद स्ट्याट्स हटाएका छन् ।
पत्रकारलाई व्यंग्यात्मक तथा अपमानजनक टिप्पणी गर्दै लेखिएको उक्त स्ट्याट्स सामाजिक सञ्जालमा विवादित बनेपछि उनले फेसबुकबाट हटाएका हुन् ।
प्रेस काउन्सिलका अनुगमन अधिकारीसँग छलफल गरेको तस्बिर सार्वजनिक गर्दै उनले बुधबार बिहान पत्रकारिताप्रति कटाक्ष गरेका थिए ।
उनले लेखेका थिए, ‘हजरत बमके घोडे पे सवार है । न पत्र हे, न कार हे, फिर भी पत्रकार हे ।’
त्यस्तै, ‘एक घर एक पत्रकार’ को अघोषित नीतिले कुँडाकर्कट जम्मा भइरहेको टिप्पणी गर्दै उनले अधिकांश पत्रकारलाई ‘दले–दलाले पत्रकार’, ‘मिसन–कमिशन पत्रकार’, ‘साहु–हाहु पत्रकार’, ‘पीए–पिए पत्रकार’ र ‘एनजीओ–जीओ पत्रकार’ जस्ता शब्द प्रयोग गरेर कटाक्ष गरेका थिए ।
सरकारी जिम्मेवारीमा रहेका अधिकारीबाट पत्रकारिताको समग्र क्षेत्रलाई लक्षित गरी गरिएको यस्तो टिप्पणीले अभिव्यक्ति स्वतन्त्रता र सार्वजनिक पदाधिकारीको मर्यादासम्बन्धी प्रश्न उठाएको छ ।
स्ट्याट्स विवादमा परेपछि उनले हटाएका हुन् । यद्यपि, उनले स्ट्याट्स हटाउनुको कारणबारे सार्वजनिक रूपमा कुनै स्पष्टीकरण दिएको जानकारी प्राप्त भएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…