भारतले नेपाली भूमि पसेर लगाए बाँध, तनावमा स्थानीय
भारतीय पक्षले स्थानीयको विरोधका बावजुद काम रोक्ने सुरसार देखाएको छैन ।

२०७७ बैशाख २७ शनिबार, दिउँसो ४:४८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतीय पक्षले रौतहटस्थित दशगजा क्षेत्रको बाँधलाई आफू खुशी सीमा मिचेर बाँध्ने र मर्मत कार्य गरिरहेको पाइएको छ ।
नेपाल भारत दुबै देश लकडाउन अवस्थामा रहेका बेला भारतीय पक्षले १० देखि १२ मिटर नेपाली भूमि मिचेर पहिलाको तुलनामा ५ फिट बढी ड्याम बनाएको पाइएको हो । भारतीय पक्षले आफू खुशी गर्न थालेपछि रौतहट सीमा क्षेत्रका स्थानीय तनावमा परेका छन् ।
जिल्लाको पश्चिमी क्षेत्र ईशनाथ नगरपालिकास्थित बन्जरहा, औरैया नजिक पर्ने दशगजा क्षेत्रको बाँधलाई लकडाउनका बेला नेपाल भारत दुबै देशको बोर्डर क्षेत्र नै मिचेर अग्लो र बलियो बनाउने काम गरेपछि स्थानीय तनावमा परेका हुन् । नगरपालिकामा पर्ने १, २ र ३ नम्बर वडा नै डुवानमा पर्नेगरी सिमा मिचेर ड्याम बनाउँदा स्थानीयले यसको विरोध गरेका छन् ।
तर, स्थानीयले चर्को विरोध गरेपनि नेपाली पक्षबाट कसैले नबोलेको स्थानीय बासिन्दाको आरोप छ । भारतीय ड्यामका कारण रौतहटको ईशनाथ र राजपुर नगरपालिकाका विभिन्न वडा डुवानमा पर्दै आएकोमा पछिल्लो समय ड्याम फराकिलो पार्दै उचाई समेत ५ फिट बढाएपछि आफूहरु समस्यामा परेको ईशनाथ नगरपालिकाका वडा नम्बर १ का वडाध्यक्ष बिगु साह बताउँछन् ।

अधिकांश ठाउँमा भारतिय पक्षले सीमा मिचेको उनले बताए । ईशनाथ नगरपालिका १ को बन्जरहामा भारतले सीमा मिच्दै अग्लो बनाएको ड्यामका विषयमा आफूहरुले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला प्रशासन कार्यालय रौतहटमा खबर गरेको भएपनि समस्या बारे कुनै ठोस पहल नभएको उनले गुनासो पोखे ।
भारतीय पक्षले स्थानीयको विरोधका बावजुद काम रोक्ने सुरसार देखाएको छैन । यसमाथि सम्बन्धित निकायले कदम चाल्न ढिला गर्न नहुने वडाध्यक्ष साहले माग गरे । गत साल बाढीको पानी घरघर पसेर ठूलो क्षति भएको स्मरण गराउँदै साहले यसपालि पनि समस्याप्रति गम्भीर नहुने हो भने बाढीबाट ठूलो क्षती हुने उनले बताए ।
बोरामा सिमेन्ट र इँटा हालेर निकै मजबुत र बलियो तरिकाले भारतीय पक्षले बाँध बाँधिरहदा आफूहरुलाई कतैबाट सहयोग नभएको स्थानीय बताउँछन् ।
यता, प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले आफुहरुलाई भारतीय पक्षले नटेरेको गुनासो गरेका छन् । पिलर नम्बर ३४७ सम्म माटो हाल्ने वा कुनै काम नगर्न लिखित सम्झौता भएपनि भारतीय पक्षले यसको ठाडो उल्लंघन गरेको उनले बताए ।
यसबारे गृह र परराष्ट्रलाई पत्रचार गरिसकेको प्रजिअ घिमिरेले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…