गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम
दोभान, घट्टेखोला, जगत र सल्लेरी गाउँमा समेत व्यापक क्षति
२०८३ असोज २५ आइतबार, बिहान ८:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, गोरखा । गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले चुमनुब्री गाउँपालिकाका ३५ घर बगाएको छ । बाढीले विभिन्न बस्तीमा व्यापक क्षति पुर्याएको छ भने नदी किनारका बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन् ।
राष्ट्रिय समाचार समिति ९रासस० मार्फत प्रकाशित समाचारअनुसार चुमनुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले पैयू र बगर गाउँका ३५ घर बाढीले बगाएको जानकारी दिएकी छन् । उनका अनुसार दोभान, घट्टेखोला, जगत र सल्लेरी गाउँमा समेत व्यापक क्षति भएको छ ।
आइतबार बिहान करिब ४ बजे बाढी बस्तीमा पसेपछि स्थानीयवासी ज्यान जोगाउन सुरक्षित स्थानतर्फ लागेका थिए । बूढीगण्डकी नदीमा एक्कासि पानीको बहाव बढेपछि आसपासका बस्तीमा त्रास फैलिएको छ ।
बाढीको कारणबारे प्रारम्भिक विवरणमा चुमनुब्री क्षेत्रमा रहेको स्यारखोला तथा त्यसका सहायक खोलामा पानी थुनिएर एक्कासि बगेको आशंका गरिएको छ । तर, बाढीको वास्तविक कारणबारे विस्तृत पुष्टि हुन बाँकी छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाले नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ । जगत, सल्लेरी, सिर्दिवास, खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाट आसपासका बासिन्दालाई समेत सावधानी अपनाउन भनिएको छ ।
गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार बाढीबाट भएको क्षतिको विवरण संकलन तथा घटनाबारे जानकारी लिने काम भइरहेको छ । उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको र नेपाली सेनाको टोलीसमेत घटनास्थलतर्फ पठाउने तयारी गरिएको समाचारमा उल्लेख छ ।
हालसम्म मानवीय क्षति भएको आधिकारिक विवरण प्राप्त भएको छैन । बाढीबाट सबै प्रभावित बस्तीमा भएको क्षति तथा घरबारविहीन परिवारको यकिन विवरण भने आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
विजय ठाकुर
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…