न्यूज ब्यूरो समाचार प्रभाव : 'गरिब बस्तीमा पुग्यो खाद्यान्न'
लकडाउनको महिनौं पुग्न लाग्दा पनि उनीहरुले कहिँकतैबाट राहत पाएका थिएनन् ।

२०७७ बैशाख ९ मंगलबार, बिहान १०:१५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । लकडाउनमा जसोतसो छाक टार्दै आएका सिरहाको मिर्चैया नगरपालिका–९ का दुई गरिब बस्तीमा खाद्यान्न पुगेको छ ।
दैनिक ज्यालादारी गरेर पेट पाल्दै आएका उनीहरुको लकडाउनका कारण चुलो बल्न छोडेपछि सामाजिक संस्था हेल्प मधेशीले खाद्यान्न राहत सहयोग गरेको हो । मिर्चैया नगरपालिका–९ पैनघटा र कटहाका झण्डै २३ मुसहर तथा विपन्न घरपरिवारले सोमबार खाद्यान्न पाएका हुन् ।
खाद्यान्न अभावमा जसोतसो बाँचिरहेका उनीहरूको समस्यालाई समेटेर ‘लकडाउन कहर : गरिबको घरमा चुलो बल्न छाड्यो’ शीर्षकको समाचार गत शुक्रबार न्यूज ब्यूरोमा प्रकाशित भएको थियो । दैनिक ज्यालादारीमै निर्भर उनीहरुको दैनिक जीवन कष्टकर बन्दै गएको विषयमा समाचार आएपछि हेल्प मधेशीले चाँसो लिँदै खाद्यान्न लिएर गरिब बस्ती पुगेको हो ।
लकडाउनको महिनौं पुग्न लाग्दा पनि उनीहरुले कहिँकतैबाट राहत पाएका थिएनन् । उनीहरु दैनिक ज्याला मजदुरी गरेरै जीविकोपार्जन गर्छन् । लकडाउनमा रोजिरोटी खोसिएपछि उनीहरु समस्यामा परेका थिए ।

खाद्यान्न सामग्री पाएपछि ती बस्तीमा थोरै भएपनि खुशी छाएको छ । राहत पाएपपछि खुशी हुँदै उनीहरुले सहयोगी संस्था हेल्प मधेशीलाई धन्यवाद दिए । स्थानीय फगुवा सदाले भने, ‘लकडाउनले चुलो बल्न छोडिसकेको थियो, मनकारी संस्थालाई हृदयदेखि धन्यावाद ।’
मुसहर समुदायको बाहुल्यता भएको पैनघटामा १३ घरपरिवार बसोबास गर्दै आएका छन् भने कटहामा सदा, मल्लिक, श्रेष्ठ र सार्की समुदायका १० घरपरिवार छन् ।
यस्तै, सोही वडाको रमपुरामा पनि एकजना मुसहर परिवारलाई राहत दिइएको छ । राहतका लागि मिर्चैया नगरपालिका ७ निबासी हाल कत्तार बस्दै आएका हेल्प मधेशीका रामप्रकाश यादवले पहल गरेका थिए ।
विश्व नै कोरोना महामारीले आक्रान्त भइरहेको समयमा सानो भएपनि सहयोग गर्न पाएकोमा खुशी लागेको हेल्प मधेशीका कत्तार च्याप्टर अध्यक्ष रामकल्याण महतोले बताए ।
राहत वितरणमा सहभागी राजपाका मिर्चैया नगर अध्यक्षसमेत रहेका अंजय कुमार साहले यस्ता विकट बस्तीमा जनप्रतिनिधिको ध्यान पुग्न नसक्नु दुःखद भएको बताए । जनप्रतिनिधिले वास्तविक प्रभावितलाई नभई हुनेखाने भएपनि नजिककालाई राहत दिन प्राथमिकता ठानेको गुनासो उनको छ ।
अहिलेको विषम परिस्थितिमा सबैले पार्टीबाट माथि उठेर लाग्नुपर्नेमा जनप्रतिनिधिले यस्तो अवस्थामा पनि अहम र घमण्ड त्याग्न नसकेको उनले सुनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…