लकडाउन कहर : गरिबको घरमा चुलो बल्न छाड्यो
देशभरी लकडाउन भएपछि दैनिक ज्याला मजदुरी गर्ने नागरिकहरु भोकमरीको चपेटामा पर्न थालेका छन् ।

२०७७ बैशाख ५ शुक्रबार, बिहान ११:१५ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मिर्चैया नगरपालिका–९, पैनघटाका फगुवा सदाको घरमा खाद्यान्न सकिन लाग्यो । पसलबाट सधैं उधारो ल्याउन असजिलो हुने भएपछि फगुवालाई चुलो बाल्ने चिन्ता छ ।
उनको जीविकोपार्जनको मुख्य आधार नै ज्याला–मजदुरी हो । उनका छिमेकी भोला सदा पनि मजदुरी गरेरै गुजारा चलाउँछन् ।
तर, दुबैजनाले लकडाउन यता मजदुरी गर्न पाएका छैनन् । काम नगर्दा कमाई शून्य भएपछि उनीहरु मात्र होइन, त्यस बस्तीका सबैको पीडा उस्तै छ ।
लकडाउनका कारण रोजीरोटी खोसिएपछि पैनघटाका करिब १२ परिवारको घरमा चुलो बल्न समस्या भएको छ । ‘काम नै ककअ परिवारके पेट केना पालब (काम गर्न नपाए कसरी परिवारको पेट पाल्ने) ?’ फगुवाले भने, ‘घरमें खाइबाला सबचिज सैइठ गेलै, दोकानमें उधार नै दैय (घरमा खाद्यान्न छैन, पसलमा उधारो पनि मिल्दैन) ।’
चामल, तरकारी, तेल, दाल लगायतका खाद्यान्न सामग्री किन्ने रकम नहुँदा जुडशितल समेत खल्लो भएको उनले सुनाए ।
भोलाले पनि काम गर्न नपाउँदा ऋण पाउनसमेत गाह्रो भएको दुःखेसो पोख्छन् । ‘लकडाउनले रोजीरोटी नै खोसियो’, उनले भने, ‘ऋण सापटी पनि कसैले पत्याउँदैनन्, हाम्रो घरमा चुलो बल्न धौधौ भइसक्यो, लकडाउनले मर्ने स्थितिमा पुर्यायो ।’ अब कसरी र के खाएर बस्ने भन्ने चिन्ताले भोलालाई पिरोलेको छ ।
खर्च र खाद्यान्न सकिएपछि परिवारलाई खाना खुवाउन समस्यामा परेको उनले बताए । निरन्तरको लकडाउनले सबैभन्दा बढी मजदुर परिवार समस्यामा परेको त्यहाँका बासिन्दाहरुको गुनासो छ ।
चुनावमा भोट लिएर जितेकाहरु मुख देखाउन पनि नआएको गुनासो उनीहरु गर्छन् ।
दैनिक मजदुरी गरेर गुजारा चलाउनेलाई कतैबाट पनि राहतको व्यवस्था नभएको उनीहरु बताउँछन् । दैनिक मजदुरी गरेर छाक टार्ने र कमाई गरी ल्याएको पैसाले खाद्यान्न र लत्ता कपडा खरिद गर्ने यहाँका दलित समुदायको बाध्यता हो ।
त्यति मात्र होइन, पैनघटाका बासिन्दा अहिलेसम्म शुद्ध खानेपानीबाट समेत बञ्चित छन् । उनीहरु वर्षौंदेखि कुवा र इनारकै पानी खान बाध्य छन् ।
यस्तै, मिर्चैया–९ मै पर्ने कटहा नाम दिइएको पहाड बस्तीका लोक बहादुर सार्कीको अवस्था पनि उस्तै छ । सार्की दाउरा बेचेर, मजदुरी गरेर घर चलाउँथे । तर, लकडाउन सुरु भएदेखि उनी घरमै बस्छन् ।

त्यहाँ पनि करिब १२ घरपरिवार बसोबास गर्छन् । सबैको समस्या उस्तै छ । लकडाउनका कारण उनीहरुको जीवन आहतमा छ । सरकारबाट राहत पाउने कुरा सुनेपनि कहिँकतैबाट राहत नआएको उनीहरु सुनाउँछन् ।
उनीहरुको दैनिक जीवनको कथा पनि संघर्षै संघर्षले भरिएको छ । त्यहाँ खानेपानीको सुविधा छैन । उनीहरु झण्डै एक घण्टा पहाडैपहाड हिडेर कुवाबाट पानी ल्याउँछन्, अनि खान्छन् । लकडाउनमा रोजीरोटीसमेत बन्द हुँदा घरमा खाद्यान्न सकेपछि अहिले उनीहरु थप समस्यामा परेका छन् ।

मिर्चैया नगरपालिकाको सबैजसो वडाहरुमा विपन्न तथा अतिविपन्न वर्गका एकसय ५० देखि अढाई सय जनाका दरले प्रभावित नागरिकहरु छन् । तर, उनीहरुले अझै राहत पाउन सकेका छैनन् । नगरपालिकाले पहिलो चरणमा प्रतिवडा २५ परिवारलाई राहत दिने बताएपनि हालसम्म पनि सबै वडामा पुग्न सकेको छैन ।
जिल्ला भरीका १७ वटै स्थानीय तहमा करिब ४२ हजार घरधुरी दैनिक ज्यालादारीमा निर्भर रहेको तथ्यांक छ । देशभरी लकडाउन भएपछि दैनिक ज्याला मजदुरी गर्ने सिरहाका गरिब, दलित, विपन्न तथा सुकुम्बासी नागरिकहरु भोकमरीको चपेटामा पर्न थालेका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…