जनकपुरमा हत्या आरोपी गुण्डासँग टिकटक बनाएका सशस्त्रका जवान मण्डल पनि तानिए
उनीसँग सशस्त्र प्रहरी जवान ऋषी मण्डलले बनाएका पुराना भिडियोसमेत घटनापछि सामाजिक सञ्जालमा फैलिएका छन्

२०८३ असोज २५ आइतबार, बेलुकी ६:२४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा छुरा प्रहारबाट एक युवकको हत्या भएको घटनामा संलग्न आरोपितसँग टिकटक र रिल्स बनाएको विषयमा एक सशस्त्र प्रहरी जवानमाथि पनि अनुसन्धान सुरु भएको छ ।
सशस्त्र प्रहरी जवान ऋषि मण्डलले हत्या आरोपित इर्साद खानसँग खुकुरी प्रदर्शन गर्ने, अभद्र भाषा प्रयोग गर्ने तथा हिंसा प्रोत्साहित गर्ने खालका भिडियो बनाएको आरोपपछि उनी अनुसन्धानमा तानिएका हुन् ।
गत साताको बिहीबार साँझ जनकपुरधाममा मोहमद इर्साद उर्फ गुण्डाले छुरा प्रहार गर्दा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ का २४ वर्षीय आमिन साफीको मृत्यु भएको थियो । घटनामा २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका छन् ।
प्रहरी अनुसन्धानका क्रममा इर्सादले यसअघि पनि विभिन्न व्यक्तिलाई लक्षित गर्दै हिंसा भड्काउने र सामाजिक सद्भाव बिगार्न सक्ने प्रकृतिका भिडियो बनाएको खुलेको बताइएको छ । उनीसँग सशस्त्र प्रहरी जवान ऋषी मण्डलले बनाएका पुराना भिडियोसमेत घटनापछि सामाजिक सञ्जालमा फैलिएका छन् ।
भाइरल भिडियोमा इर्सादले खल्तीबाट खुकुरी निकालेर प्रदर्शन गर्दै गालीगलौज गरेको र हिंसात्मक चेतावनी दिएको देखिन्छ । उक्त भिडियोमा जवान मण्डल पनि उपस्थित रहेको तथा उनको व्यवहार प्रहरी संगठनको आचरणविपरीत देखिएको भन्दै कारबाहीको माग उठेको छ ।
भिडियो सार्वजनिक भएपछि सशस्त्र प्रहरीले जवान मण्डलमाथि अनुसन्धान थालेको छ । सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख डीआईजी विष्णु भट्टका अनुसार मण्डललाई पर्साबाट तानेर गणमा ल्याई सोधपुछ तथा अनुसन्धान भइरहेको छ ।
‘जनकपुरमा छुरा प्रहारको घटना भएपछि जवान ऋषि मण्डलको पनि भिडियो भाइरल भइरहेको छ । त्यो भिडियोमा प्रहरीको आचरणविपरीत व्यवहार भएको देखिन्छ,’ डीआईजी भट्टले भने, ‘यसपछि पर्साबाट तानेर गणमा उनीमाथि सोधपुछ तथा अनुसन्धान भइरहेको छ ।’
डीआईजी भट्टले यस विषयमा नेपाल प्रहरीसँग पनि समन्वय भइरहेको जानकारी दिएका छन् ।
यद्यपि, भिडियोमा देखिएको व्यवहार र आरोपका आधारमा मात्रै जवान मण्डलको संलग्नता वा कसुर पुष्टि हुने छैन । घटनाबारेको अनुसन्धानपछि मात्रै थप कारबाहीबारे निर्णय हुने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…