छठ पर्वमा आधारित फिल्म ‘द वन’को अनौठो क्रेजः थिएटरमै बाँडियो ठेकुआ, दर्शकले उतारे जुत्ता

२०८३ असोज १६ शुक्रबार
बिहान ०९:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । बलिउड फिल्म ‘द वनःफोर्स अफ द फरेस्ट’ ले बिहारमा दर्शकबीच अनौठो माहोल सिर्जना गरेको छ ।

सिद्धार्थ मल्होत्रा र तमन्ना भाटिया अभिनीत फिल्ममा बिहारको लोकसंस्कृति, आस्था र छठ पर्वलाई प्रस्तुत गरिएको छ । यही कारण फिल्म प्रदर्शन भइरहेका केही सिनेमाघरमा दर्शकले सामान्य फिल्म हेर्ने शैलीभन्दा फरक व्यवहार गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मुजफ्फरपुरस्थित एक सिनेमाघरमा फिल्म हेर्नुअघि दर्शकले जुत्ता–चप्पल बाहिर उतारेका थिए । त्यस्तै, महिलाहरूले परम्परागत पोसाकमा सिनेमाघरभित्रै ठेकुआ बाँडेको दृश्य पनि सार्वजनिक भएको छ । कतिपय दृश्यमा महिलाहरूले एकअर्कालाई सिन्दूर लगाएको देखिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

फिल्ममा छठ पूजासँग सम्बन्धित दृश्य तथा दिवंगत लोकगायिका शारदा सिन्हाको आवाज समावेश गीतले बिहारका दर्शकलाई भावनात्मक रूपमा जोडेको बताइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा दर्शकहरू छठको दृश्य आउँदा हात जोडेर बसेको तथा भावुक बनेको देखिन्छ ।

‘द वनः फोर्स अफ द फरेस्ट’ २५ सेप्टेम्बरमा सिनेमाघरमा रिलिज भएको हो । फिल्ममा बिहारको लोकविश्वास, वनदेवी र छठ पर्वसँग जोडिएको कथालाई प्रस्तुत गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मको प्रदर्शनलाई लिएर बिहारका केही सिनेमाघरमा देखिएको यस्तो प्रतिक्रिया अहिले सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus