विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा
त्यस्तै, वैज्ञानिकको दीर्घकालीन अनुसन्धान प्रभाव मापन गर्ने ‘करियर-लङ’ श्रेणीमा नेपालका आठ जना समावेश भएका छन् । यस श्रेणीमा नेपाल एग्रोफरेस्ट्री फाउन्डेसनका गोपालबहादुर थापा अग्रस्थानमा रहेको उल्लेख छ ।
२०८३ असोज २५ आइतबार, राति ९:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली अनुसन्धानकर्ता डा. देवेश झा कृत्रिम बुद्धिमत्ता (एआई) तथा इमेज प्रोसेसिङ विधामा विश्वका उत्कृष्ट अनुसन्धानकर्तामध्ये एकका रूपमा सूचीकृत भएका छन् । उनी स्ट्यानफोर्ड विश्वविद्यालय र एल्सेभियरले सार्वजनिक गरेको सन् २०२५ को विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा परेका हुन् । उक्त सूची सन् २०२६ मा सार्वजनिक गरिएको हो ।
उपलब्ध विवरणअनुसार डा. झा विश्वभरका ५ लाख १७ हजार ६४८ अनुसन्धानकर्तामध्ये एआई तथा इमेज प्रोसेसिङ विधामा १ हजार ३९९औँ स्थानमा छन् । स्वउद्धरण (सेल्फ–साइटेसन) बाहेकको गणनाअनुसार उनी यस विधाका शीर्ष ०.२७ प्रतिशत अनुसन्धानकर्ताभित्र पर्छन् ।

डा. झा ‘करियर–लङ’ र ‘सिंगल–इयर’ दुवै श्रेणीमा सूचीकृत भएका छन् । करियर–लङ श्रेणीले अनुसन्धानकर्ताको समग्र प्राज्ञिक जीवनमा गरेको अनुसन्धान र त्यसको प्रभावलाई समेट्छ भने सिंगल–इयर श्रेणीले निश्चित एक वर्षको अनुसन्धान योगदानलाई आधार मान्छ ।
स्ट्यानफोर्ड विश्वविद्यालयसँग सम्बन्धित अनुसन्धानकर्ताहरूले एल्सेभियरको स्कोपस तथ्याङ्कका आधारमा तयार पार्ने उक्त सूचीमा अनुसन्धान प्रकाशन, उद्धरण संख्या तथा अनुसन्धानको प्रभावलगायतका सूचक प्रयोग गरिन्छ ।
अन्तर्राष्ट्रियस्तरको यस सूचीमा डा. झाको समावेशले नेपाली अनुसन्धानकर्ताको विश्वव्यापी उपस्थिति र प्रविधि क्षेत्रमा नेपालको योगदानलाई उजागर गरेको छ । विशेषगरी कृत्रिम बुद्धिमत्ता र इमेज प्रोसेसिङजस्ता तीव्र गतिमा विकसित भइरहेका क्षेत्रमा नेपाली अनुसन्धानकर्ताको उपलब्धिले विद्यार्थी तथा युवा अनुसन्धानकर्तालाई अनुसन्धान र नवप्रवर्तनतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपाली प्रतिभाले अन्तर्राष्ट्रिय पहिचान बनाइरहेका बेला डा. झाको उपलब्धि नेपालको अनुसन्धान क्षमताबारे विश्वमाझ चर्चा गर्ने एउटा महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
Anuja Das
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…