धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने
उनले हिन्दुधर्म, दुर्गा शक्ति, दैवीक शक्तिले साधाना गर्न सफल हुने गरेको बताईन्छ ।

२०८३ असोज २५ आइतबार, राति ८:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दसैँलाई आस्था, साधना र आत्मअनुशासनसँग जोड्दै धनुषाको जनकनन्दिनी गाउँपालिका–४ खजुरी रेल्वे स्टेसनस्थित प्रसिद्ध काली मन्दिरमा सुजित कुमार यादव उर्फ सुजित सर १२ दिनसम्म निराहार, निर्जल ध्यानमा बस्ने भएका छन् ।
न्यू लाइफ भिजन स्कुलका संस्थापकसमेत रहेका यादवले घटस्थापनादेखि विजया दशमीसम्म निराहार व्रत र ध्यान गर्ने परम्परालाई यस वर्ष पनि निरन्तरता दिएका हुन् । उनी विगत तीन वर्षदेखि हरेक दसैँमा दशमीसम्म यस्तो साधना गर्दै आएका छन् ।
यादवका अनुसार यस अवधिमा उनी खाना र पानीसमेत ग्रहण नगरी ध्यानमा बस्छन् । दिसापिसाबसमेत नगर्ने दाबी गरिएको उनको यो कठोर साधनालाई धार्मिक आस्था, आत्मसंयम र दृढ इच्छाशक्तिसँग जोडेर हेरिएको छ ।
काली मन्दिरमा दसैँको नवरात्रका अवसरमा गरिने यस्तो साधनाले भक्तजनमाझ धार्मिक वातावरण थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ । दसैँमा शक्तिस्वरूपा भगवतीको आराधना गर्ने मिथिलाको परम्परासँग जोडिएको उनको साधना स्थानीय क्षेत्रमा चासोको विषय बनेको छ ।
शिक्षा र राजनीतिसँगै धार्मिक पहिचान
“सुजित सर” शैक्षिक क्षेत्रमा न्यू लाइफ भिजन स्कुलका संस्थापकका रूपमा परिचित छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जनकनन्दिनी गाउँपालिका उपसभापतिसमेत हुन् ।
स्थानीय राजनीतिक वृत्तमा आगामी निर्वाचनमा गाउँपालिका अध्यक्षको सम्भावित उम्मेदवारका रूपमा समेत उनको चर्चा हुने गरेको छ । यद्यपि, उनले अध्यक्ष पदमा उम्मेदवारी दिने नदिने बारे बोल्दैनन् । उनका शुभचिन्तकहरुले उनलाई अध्यक्षको रुपमा अघि सार्ने बताउँदै आएको छ ।
शिक्षा र राजनीतिमा सक्रिय यादवको धार्मिक साधनाले उनको सार्वजनिक परिचयको अर्को पक्ष उजागर गरेको छ । धार्मिक आस्थालाई व्यक्तिगत अनुशासनसँग जोड्दै उनले निरन्तरता दिँदै आएको यस अभ्यासले स्थानीयस्तरमा ध्यान आकर्षित गरेको छ ।
यद्यपि, १२ दिनसम्म पानीसमेत नपिई बस्ने अभ्यास स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण मानिएपनि उनले हिन्दुधर्म, दुर्गा शक्ति, दैवीक शक्तिले साधाना गर्न सफल हुने गरेको बताईन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…