न्यूज ब्यूरोको प्रभाव : दृष्टिविहिन मण्डललाई विदेशीयाहरुको सहयोग
गोविन्दको सहयोग हेतु आएको रकम ५० हजार मध्ये १५ हजार थाति राखेर उनकै लागि उनको घरमा शौचालय बनाईदिने योजना रहेको छ ।

२०७६ मंसिर १ आइतबार, बिहान ८:५२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । वैदेशिक रोजागरीको क्रममा गएकै बेला दुवै आँखा गुमाएका धनुषाका एक दृष्टिविहिन युवकलाई विदेशबाट युवाहरुले आर्थिक सहयोग सहित न्यानो कपडा सहयोग गरेका छन् ।
गत भदौ १९ गते न्यूज ब्यूरोमा "धनुषा : सहयोगको लागि भौंतारिदै दृष्टिविहिन मण्डल" शिर्षकको समाचार प्रकाशित गरेपछि खाडी मूलुकमा वैदेशिक रोजगारीको शिलशिलामा रहेका युवाहरुको एक संगठनले धनुषाको शहिदनगर नगरपालिका वडा नं। ६ हडबारा बस्ने बर्ष ३५ का गोविन्द मण्डलाई ३० हजार नगद सहित न्यानो कपडा समेत सहयोग गरिएको हो । सोही गाउँका युवाहरुको कतारमा रहेको जनहित कतार कल्याण संगठन नामक सँस्थामा आवद्ध युवाहरुले मण्डलको बारेमा समाचार पढेपछि सहयोग पठाएको बताएका हुन् ।
गत वि.सं. २०६७ सालमा वैदेशिक रोजगारीको क्रममा विदेशिएका मण्डलको गएको ४/५ महिनापछि नै दुवै आँखाको ज्योती गुमाएपछि कम्पनीले उनलाई नेपाल पठाइदिएको थियो । कर्जा लिएर परिवार पाल्न विदेशिएका मण्डलको दुवै आँखाको ज्योती गुमेपछि उनी बेसहारा भएका छन् भने उनको परिवार पनि विच्चलीमा परेका बेला स्थानीय मनोहर अधिकारीको सम्पर्कमा आएपछि उनले न्यूज ब्यूरोसँग सम्पर्क गरेका थिए । न्यूज ब्यूरोमा उनको पीडा र बाध्यताबारे समाचार प्रकाशित भएपछि विदेशमा बस्ने युवाहरुले उनलाई सहयोग गर्न अग्रसर भएका हुन ।
एक छोरा र एक छोरी तथा श्रीमतिलाई दुई छाक टार्नको लागि सानो पसल थापेपनि उनलाई पसल चलाउन समेत धौधौ भएको अवस्थामा जनहित कतार कल्याण संगठन हडबाराका युवाहरुले उनलाई ३० हजार नगद सहित ३ वटा मोटो स्वेटर समेत सहयोग गरेका छन् । मण्डलले परिवारकै लागि सजाएको सपना आँखा सम्मै सीमित भएको भन्दै आफू देख्न नसक्ने भएपछि काम गर्न कठिनाई भएको हो । दैनिक रुपमा काम गरी खाने मण्डलको दुवै आँखाको ज्योती गुमेपछि अहिले असहाय भएका छन् । आफ्नो परिवारको लागि एक्लै सहारा बनेको मण्डल स्वयंम नै बेसहारा भएपछि समस्या झन जटिल बनेको हो ।

शनिबार हडबारा गाउँमै एक कार्यक्रमको बीच मण्डल सहित स्थानीय राम रखी देवी मण्डललाई समेत सहयोग गरेको हो । आर्थिक अवस्था दयनीय रहेको मण्डललाई संगठनमै आवद्ध युवाहरुले ५ हजार रुपैयाँ नगद सहित १ क्वीन्टल चामल, ५ किलो दाल, ४ किलो तेल, ६ थान साबुन, ५ किलो नुन, १ थान सिरक र ३ थान स्वेटर सहयोग गरेको हो । गरिबीले आत्तिएकी राम रखिलाई युवाहरुले दैनिक दुई छाक टार्नको लागि खाद्यान्न समाग्री सहयोग गरेको हो ।
बास स्थानको लागि जम्मा ३ धुर खडेरी बाहेक केही पनि नरहेको उनलाई युवाहरुले सहयोग गरेका हुन् । त्यही ३ धुर जमिनमा रहेको एक झोपडीमा उनका श्रीमान मुगली मण्डल सहित उनकी २ छोरी (अविवाहित) पनि एउटै घरमा सुत्नुपर्ने अवस्था रहेको छ । स्थानीय न्यूज जनशक्ति युवा क्लबको रोहबरमा स्थानीय भद्र भलादमी, वडाध्यक्ष, जागरुक नागरिकहरुको उपस्थितिमा गोविन्द र राख रखीलाई सहयोग गरिएको हो ।
गोविन्दको सहयोग हेतु आएको रकम ५० हजार मध्ये १५ हजार थाति राखेर उनकै लागि उनको घरमा शौचालय बनाईदिने योजना रहेको छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…