बाढीले बगाएको डाइभर्सन अझ भएन मर्मत, यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य
राजदेवी नपा र दुर्गा भगवती गाउपालिकाबाट तत्काल मर्मत गराएर यातायात सुचारु गराउने तर्फ पहल भईरहेको जानकारी दिए ।

२०७६ भदौ ८ आइतबार, राति ८:३६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । गौर गंगापिपरा समनपुर सडक खण्डमा पर्ने पथरा पुलको डाइभर्सन बगाउदा गत डेढ महिना देखि सर्वसाधारण जनताहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
असार महिनाको २७ र २८ गते आएको विनाशकारी बाढीबाट गौर गंगापिपरा समनपुर सडक खण्ड अन्तर्गत राजदेवी नपाको पथरा नजिक रहेको निर्माणाधिन पुलको डाइभर्सन बगाएपछि गत डेढ महिना देखि उक्त बाटो भएर आवतजावत गर्ने हजारौं जनताहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।
पैदल, साइकल र मोटरसाइकलबाट यात्रा गर्ने यात्रुहरु जोखिम मोलेर सदरमुकाम गौर पुग्ने गरेको छ । चार पाँग्रे र ठूला सवारी साधनहरु करिव सात किलोमिटरको अर्को गण्डक नहरको बाटो प्रयोग गर्न बाध्य रहेपनि अहिले सम्म उक्त बाटोमा डाइभर्सन बनाउने तर्फ सम्बन्धित निकायले कुनै चासो नदिएको स्थानीय बडहर्वाका बासिन्दा वैद्यनाथ सहनीले गुनासो गरे ।
अत्यन्तै चाप रहेको गौर गंगापिपरा समनपुरको ९रजैया० सडक अन्तर्गत पर्ने पथरा पुलको डाइभर्सन नबन्दा अधिकाँश जोखिम मोलेर तथा अन्य बैकल्पिक बाटो भई सदरमुकाम गौर जाने गरेको समेत उनले बताए । दुर्गा भगवतीको पाँचै वडा, माधवनारायणको सवै वडा, गढीमाईको धरमपुर, समनपुर, विनगरा लगायत सर्लाहीको रामनगर सहितका विभिन्न स्थानीय तहका जनताहरुको प्रमुख बाटो अबरुद्ध हुँदा सर्वसाधारणहरु सास्ती खेप्नु परेको दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष धर्मेन्द्र कुमार झाले बताए ।
वडाध्यक्ष झाका अनुसार बाढीले बगाएको डाइभर्सनको तत्काल मर्मत गरेर यातायात सुचारु गराउन सड्क डिभिजन कार्यालय चन्द्रपुरलाई पटक पटक भनिएपनि अहिले सम्म मर्मत गर्ने तर्फ चासो नलिएको बताए । राजदेवी नपा र दुर्गा भगवती गाउपालिकाबाट तत्काल मर्मत गराएर यातायात सुचारु गराउने तर्फ पहल भईरहेको जानकारी दिए ।
राजदेवी नपा वडा नम्वर १ का अध्यक्ष नरेश यादवले डेढ महिना देखि अलपत्रमा परेको यो बाटो सुचारु गराउन निकै ठूलो खर्चको आवश्यक्ता छ तर वडा कार्यालय संग बजेट नहुँदा बाटो सुचारु गराउन नसकेको बताए । सडक डिभिजन कार्यालयमा कयौं पटक ताकेता गर्दा स्थलगत रुपमा अनुगमन गरेर बजेट आएपछि डाइभर्सन बनाउने बताएपछि यहाँका जनताहरुको अन्य गाउँ संग सम्पर्क विच्छेद हुँदा निकै आप्ठ्यारो भएको गुनासो व्यक्त गरे ।
सड्क डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख दरोगा साहले आपतकालिन अवस्थामा काम गर्नका लागि डिभिजन कार्यालय संग बजेट नभएको हुँदा स्थानीय तहबाट मर्मत सम्भार गर्नुपर्नेमा जोड दिए । स्थानीय तहबाट ५० प्रतिशत र डिभिजन कार्यालयबाट ५० प्रतिशत लगानी गरेमा तत्काल डाइभर्सन बनाउन सकिने बताउदै प्रमुख साहले डाइभर्सन बनिसकेपछि बल्ल उक्त बाटो भएर जाने अवस्था आउन सक्ने र डिभिजन कार्यालयमा बजेट आएपछि तत्काल उपलब्ध गराउने स्पष्ट पारे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…