मधेशमा जन्मेका बुद्धको ज्योति दुनियाभर फैलियो तर मधेश आफै अन्धकारमा परे : सिके लाल
नेपालीले बुद्धको विचार, भाव र दर्शन अगाडि बढाउन आवश्यक रहेको औल्याए ।
२०७६ जेठ ५ आइतबार, बिहान ७:२५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । वरिष्ठ राजनीतिक विश्लेषक सिके लालले मधेश अन्धकारमा परेको भन्दै दु:ख व्यक्त गरेका छन् ।
बुद्ध जयन्तीको अवसरमा तराई मधेश राष्ट्रिय परिषदद्धारा काठमाडौंमा आयोजित 'बुद्ध, बहुजन र मधेश' विषयक विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै मधेशमा जन्मेका बुद्धको ज्योति दुनियाँ भर फैलिएको तर, मधेश आफै अन्धकारमा परेको भन्दै दु:ख प्रकट गरेका हुन् ।
लालले मुलुक र मधेशको नेतृत्व गर्दै आएका राजनीतिक पार्टीहरुले मधेशलाई सधैं गुमराहमा राखिराखेको कारण मधेश दलदलमा पुगेको बताए ।
मधेशमा जन्मेका बुद्धको टाउको नेपालीको व्यापारको साधन मात्र बनेको भन्दै यस्तो रहिरहे मुलुक र मधेश अन्धकारबाट बाहिर आउन मुस्किल रहेको उनले बताए । नेपालीले बुद्धको विचार, भाव र दर्शन अगाडि बढाउन आवश्यक रहेको औल्याए ।
उनले मधेशमा अझ कायम रहेको असमानता जबसम्म चतुर वर्ण व्यवस्था कायम रहिरहन्छ र जातीय व्यवस्था समाप्त नभएसम्म समानता कायम नसक्ने बताए । यस्तो अवस्थामा ससमान्ताको कुरा गर्नु भनेको गोबरको थुप्रोमाथि महल बनाउनु जस्तै रहेको व्यंग्य गरे ।
यदि कुनै धर्ममा सामन्ता आउन सक्छ भने त्यो बुद्ध धर्म रहेको सुनाए । मधेशमा वर्ण व्यवस्था र वर्ग व्यवस्था समानताको लागि धेरै ठूलो समस्या रहेको र यी समस्या समाधानका लागि मधेशवादले धेरै हदसम्म सहयोग गर्नसक्ने जनाए ।
अर्का वक्ता राजनीतिक चिन्तक एवं लेखक युग पाठकले बुद्ध जन्मेको बेला बुद्धको आफ्नै देश रहेको र अहिले आएर पहिचान पनि धरापमा परेको बताए । उनले आजको दिनमा सबैले बुद्धलाई एउटा धर्म पनि छ भनेर बुझ्नुपर्ने र बुद्धलाई प्रतिरोधको तरिकाले हेर्नुपर्ने जिकिर गरे ।
त्यसैगरी, कार्यक्रममा दलित राजनीतिकर्मी सुनिता मरिकले बुद्धले खोजेको विविधतामा समानता र अनेकतामा एकता भएको स्मरण गरिन् । उनी अगाडी भनिन्, 'हिन्दु धर्मले मानिस मानिस बीच विभेद कायम गरेको छ, दलितले नै दलितलाई विभेद गरेको देखिन्छ ।' यी रिवाज परास्त गर्न दलित भित्रकै ब्राह्मणवादी चिन्तन भएको व्यक्तिसँग पहिला लड्नुपर्ने धारणा राखिन् ।
कार्यक्रमका संचालक एवं टिएमएनसीका संयोजक चन्द्रनारायण थारुले सबैले आफ्नो कर्ममा विश्वास गरे कोही चण्डाल र ब्राह्मण नहुने बताए ।
टिएमएनसीद्धारा अल्टरनेटिव डिसकोर्स सिरिज अन्तर्गत राजधानीस्थित नेपाल ल कलेजमा भएको विमर्श कार्यक्रममा करिब १०० बढी सचेत युवा, विद्यार्थी लगायतको उल्लेख्य सहभागिता थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…