मिर्चैयाः संघर्ष समितिको आन्दोलन जारी, वडा १ र २ मा दिए धर्ना
समितिले माँग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

२०७५ भदौ २१ बिहीबार, दिउँसो ४:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा संयुक्त संघर्ष समितिले नगरपालिका विरुद्धको आन्दोलन जारी राखेका छन् । कर बृद्धि विरुद्ध तथा बुझाइएको ज्ञापन–पत्रमा तोकिएको निर्धारित समयभित्र नगरपालिकाले निकास नदिएर बेवास्ता गरेको भन्दै सर्वपक्षीय संयुक्त संघर्ष समितिले ९ दिने आन्दोलनको कार्यक्रम अन्तर्गत विहीबार मिर्चैया नगरपालिकाको वडा १ र २ को वडा कार्यालयको मूलगेटमा २ घण्टा धर्ना दिएका छन् ।
नगरपालिकाले कर, राजस्व र एकिकृत सम्पतिमा वृद्धि गरेको कर दस्तुर विरुद्ध तथा माग गरिएको तथ्यांक समयमा उपलब्ध नगराइएको भन्दै गठित संघर्ष समितिले नगरपालिका विरुद्ध ९ दिने आन्दोलनको कार्यक्रम घोषण गरेको हो ।
संयुक्त संघर्ष समितिले विभिन्न ८ बुँदे माँगसहितको ज्ञापन–पत्र गत साउन २९ गते नगरपालिकाको कार्यालयमा बुझाएका थिए । ज्ञापन–पत्र बुझ्दै नगर प्रमुख श्रवण कुमार यादवले भदौ १५ गतेभित्र कर शुल्क तथा हरहिसाब पार्दर्शी गर्ने मौखिक प्रतिवद्धता जनाएपनि निर्धारित समयभित्र नरिँदा उनीहरु चरणवद्ध आन्दोलनमा उत्रिएका हुन् ।
नगरपालिकाले बुधबार आन्दोलनरत पक्षलाई बार्ताको लागि बोलाइएको भएपनि नगरप्रमुख श्रवण यादवले कार्यब्यस्ताको कारण देखाउँदै बाहिर गएपछि बार्ता भने हुन सकेन ।
आन्दोलन कार्यक्रम अन्तर्गत यसअघि समितिले भदौ १९ गते मिर्चैयामा विशाल बिरोध र्याली प्रदर्शन तथा २० गते नगरपालिकाको मूलगेट अगाडि धर्ना दिएका थिए । समितिले शुक्रबार २२ गते वडा कार्यालय ३ र १२ मा धर्ना, २३ गते मिर्चैया गुदरी बजारमा विरोध सभा, २४ गते वडा कार्यालय ४, ५ र ६ मा धर्ना, २५ गते वडा कार्यालय ७ र ८ मा धर्ना, २६ गते वडा कार्यालय ९ मा धर्ना र २७ गते वडा कार्यालय १० र ११ मा धर्ना दिने सहित ९ दिने आन्दोलनको कार्यक्रम तय गरेका छन् ।
समितिले माँग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…