जनकपुरः मोसा दुर्घटना हुँदा जनकपुरकै तीन युवकको घटनास्थलमै मृत्यू
मृतक तीनै जनाको लासलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पताल पठाउन तयारी गरिरहेको बताइएको छ ।
२०७८ असोज १३ बुधबार, बेलुकी ५:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित मोटरसाईकल (मोसा) दुर्घटना हुँदा तीन युवकको घटनास्थलमै मृत्यू भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १८ भोईलस्थित हुलाकी राजमार्गमै भएको मोटरसाईकल दुर्घटनामा परी तीन युवकको एकैपटक मृत्यू भएको हो ।
जनकपुर–कमला हुलाकी राजमार्ग अन्तर्गत भोइल नजिकै बनेको हुलाकी मार्गको पुल नजिकै मोटरसाईकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
औरही गाउँपालिकाको देउरी परवाहा तर्फबाट जनकपुरतर्फ आउँदै गरेको ज ९ प १९८२ नम्बरको १८० सिसिको कालो अपाचे मोटरसाईकलमा सवार तीनै जनाको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार मृतक तीन जनामध्ये चालकको नाम मात्र खुलेको हो । घटनास्थलमै मृत्यू भएका तीन जनामध्ये एक जनाको साथमा रहेको लाईसेन्सको आधारमा उनको नाम कुनाल कुमार साह रहेको पाइएको छ ।
अन्य दुई जना मृतकको नाम र ठेगाना अझै खुल्न सकेको छैनन् । बुधबार दिउँसो करिब ३ः३० बजेको समयमा जलाद नदीको सानो नहरको पानीमा डुबेर तीनै जनाको मृत्यू भएको बताइएको छ ।
भोईलदेखि केही मिटर पूर्व स्थित हुलाकी राजमार्गमै रहेको घुमाउरो बाटोमा मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
मृतक एक जना जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ को रहेको छ । स्थानीय राजेश कुमार साहको अन्दाजी बर्ष २२ को छोरा कुनाल कुमार साह र अन्य दुई जनाको नाम, वतन खुल्न नसकेको बताइएको छ ।
दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी कपिलेश्वरका ईन्चार्ज सई बब्लु ठाकुरको टोली घटनास्थल पुगेको थियो । यसका साथै, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवम् डिएसपी बस्नेतको टोली समेत घटनास्थल पुगेर मुचुल्का उठाएको बताईएको छ ।
मृतक तीनै जनाको लासलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पताल पठाउन तयारी गरिरहेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
गोबिन्द यादव
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…