गोलबजार व्यापार संघको चुनावमा दलगत हस्तक्षेप, रास्वपाको समर्थनमा राकेश गुप्ता मैदानमा
उनले रास्वपाका नेताहरू तथा प्रतिनिधिसभा सदस्यहरू व्यवसायीहरूलाई समेटेर अघि बढ्न सुझाव दिन आएको दाबीसमेत गरे ।

२०८३ कार्तिक २५ बुधबार, बिहान ८:३० बजे२ मिनेट पढाइ
गोलबजार । आगामी मंसिर ४ गतेका लागि तय भएको गोलबजार व्यापार संघको निर्वाचनले राजनीतिक रूप लिन थालेको छ । नेपाली कम्युनिष्ट पार्टीसहित विभिन्न पक्षको समर्थनमा महेश साह सुडी (कोक्वा) नेतृत्वको प्यानल अघि बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार तामझामका साथ राकेश गुप्तालाई अध्यक्षको उम्मेदवारका रूपमा अघि सारेको छ ।
उम्मेदवारी मनोनयन दर्ताको अघिल्लो दिन रास्वपाका नेताहरू तथा प्रतिनिधिसभा सदस्यद्वय पुरुषोत्तम यादव र शिव यादवसहितको समूहले गुप्तालाई टीका र खादा लगाएर अध्यक्षको उम्मेदवार घोषणा गरेको हो । राजनीतिक दलका नेताहरू नै उम्मेदवार घोषणा कार्यक्रममा सहभागी भएपछि व्यवसायीहरूको साझा संस्थाका रूपमा रहेको व्यापार संघको निर्वाचनमा दलगत प्रभाव बढेको देखिएको छ ।
रोचक पक्ष के छ भने गुप्ता यसअघि दुई कार्यकाल कार्यसमितिमा रहेर काम गरिसकेका व्यक्ति हुन् । उनले आफू अब व्यापार संघमा नफर्किने बताउँदै आएका थिए । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने तयारी गरिरहेको चर्चाका कारण पनि उनी व्यापार संघको चुनावमा सहभागी नहुने धेरै व्यवसायीको अनुमान थियो ।
तर, अन्तिम समयमा अध्यक्ष पदमा उम्मेदवारी दिन तयार भएका गुप्ता अहिले पनि आफू स्वतन्त्र उम्मेदवार रहेको दाबी गर्छन् । विगतमा व्यापार संघलाई राजनीतिक दलभन्दा माथि राखेर स्वतन्त्र, निष्पक्ष र व्यवसायीहरूको साझा संगठन बनाउनुपर्ने वकालत गर्दै आएका उनी स्वयं दलका नेताहरूको उपस्थितिमा उम्मेदवारका रूपमा अघि सारिएपछि उनको स्वतन्त्र उम्मेदवारीमाथि प्रश्न उठ्न थालेको छ ।
गुप्ताले भने आफू पार्टीको दबाबमा नभई व्यवसायीहरूको आग्रहमा उम्मेदवारी दिन तयार भएको दाबी गरे । ‘पार्टीको दबाबभन्दा पनि गोलबजारका समग्र व्यवसायीहरूको दबाबपछि मात्रै अन्तिम समयमा आएर उम्मेदवारीका लागि राजी भएको हुँ,’ उनले भने, ‘म व्यापार संघको चुनावमा भाग लिने मनसायमै थिइनँ । सम्पूर्ण व्यवसायीहरूको अनुरोधपूर्ण दबाबपछि मात्रै उम्मेदवार हुन तयार भएको हुँ । यसमा पार्टीको संलग्नता छैन ।’
गोलबजारको परिचय फराकिलो बनाउन नयाँ र सक्षम नेतृत्व आवश्यक रहेको भन्दै व्यवसायीहरूले आफूलाई उम्मेदवारीका लागि आग्रह गरेको उनको जिकिर छ ।
दुई कार्यकाल कार्यसमितिमा बसेको व्यक्ति कसरी नयाँ नेतृत्व हुन सक्छ भन्ने प्रश्नमा गुप्ताले आफू प्रमुख पदमा नरहेकाले अपेक्षाअनुसार काम गर्न नसकेको बताए । ‘म प्रमुख पदमा नभएकाले भनेजस्तो गर्न सकिएन । अब व्यवसायीहरूले मौका दिए भने अवश्य केही नयाँ गरिन्छ,’ उनले भने ।
उनले रास्वपाका नेताहरू तथा प्रतिनिधिसभा सदस्यहरू व्यवसायीहरूलाई समेटेर अघि बढ्न सुझाव दिन आएको दाबीसमेत गरे ।
यता, अध्यक्षका अर्का प्रत्याशी महेश साह सुडीले आफू सर्वसम्मत उम्मेदवार भएको दाबी गरेका छन् । उनले अन्तिम समयसम्म आफूलाई धेरै व्यवसायीको समर्थन रहे पनि अचानक केही साथीहरूले धारणा परिवर्तन गरेको बताए ।
‘म सर्वसम्मत उम्मेदवार हुँ । हिजोसम्म धेरैले मेरै समर्थन गरिरहनुभएको थियो । आज एक्कासि साथीहरू किन फेरिनुभएको हो, मलाई थाहा भएन,’ उनले भने, ‘तर अझै पनि साथीहरू मिलाउने प्रयासमा हुनुहुन्छ । चुनावसम्म सबै मिल्छ होला ।’
गोलबजार व्यापार संघको निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ । मंसिर ४ गते हुने निर्वाचनमा दुई पक्षबीच प्रतिस्पर्धा हुने सम्भावना बढ्दै जाँदा व्यवसायीहरूको साझा संस्थाको नेतृत्व चयनमा राजनीतिक दलहरूको प्रभाव कति रहने भन्ने चासोसमेत बढेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।




















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…