६० बिघा जग्गा,४ पोखरीको सम्पत्ति रहेको खजुरीको लक्ष्मीनारायण मन्दिर दीपावलीमै अन्धकार !
सम्पत्तिको पारदर्शिता, व्यवस्थापनमा जवाफदेहिता र धार्मिक धरोहरको संरक्षण सुनिश्चित गर्न आवाज उठाएको

२०८३ कार्तिक २४ मंगलबार, बिहान १०:०० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका–४ खजुरीस्थित ऐतिहासिक श्री लक्ष्मीनारायण मन्दिर दीपावलीकै दिन अन्धकारमा रहेपछि मन्दिरको व्यवस्थापन र सम्पत्तिको उपयोगबारे स्थानीयवासीले प्रश्न उठाएका छन् ।
मन्दिरको नाममा करिब ६० बिघा जग्गा र चारवटा पोखरी रहेको दाबी गर्दै स्थानीयवासीले यति ठूलो सम्पत्ति र धार्मिक महत्त्व बोकेको मन्दिर लक्ष्मीपूजा तथा दीपावलीजस्तो महत्त्वपूर्ण पर्वमा समेत उज्यालो हुन नसक्नु दुःखद भएको बताएका छन् ।
स्थानीयवासीले मन्दिरको सम्पत्तिबाट प्राप्त हुने आम्दानी कहाँ र कसरी खर्च भइरहेको छ भन्ने विषयमा पारदर्शिता माग गरेका छन् । त्यस्तै, मन्दिरको व्यवस्थापन, संरक्षण तथा सञ्चालनको जिम्मेवारी कसले लिएको छ भन्नेबारे पनि स्पष्ट पार्नुपर्ने उनीहरूको माग छ ।
मन्दिर कुनै व्यक्तिको निजी सम्पत्ति नभई सम्पूर्ण खजुरीवासीको आस्था, संस्कृति र पहिचानसँग जोडिएको धार्मिक धरोहर भएको उल्लेख गर्दै स्थानीयले यसको संरक्षणमा सम्बन्धित पक्ष गम्भीर हुनुपर्ने बताएका छन् ।
उनीहरूले मन्दिरको आम्दानी र खर्चको पारदर्शी हिसाब सार्वजनिक गर्न तथा धार्मिक पर्वहरूमा मन्दिरलाई व्यवस्थित र उज्यालो बनाउन माग गरेका छन् ।
‘घरघरमा दीपावलीको उज्यालो हुँदा हाम्रा इष्टदेवताको मन्दिरमा अन्धकार हुनु विडम्बना हो,’ स्थानीयवासीको प्रश्न छ, ‘मन्दिरको नाममा यति धेरै सम्पत्ति हुँदाहुँदै पनि दीपावलीमा उज्यालो गर्न नसक्नुको कारण के हो ?’–स्थानीय रास्वपाका नेता दिलिप राउतले प्रश्न गरेका छन् ।
स्थानीयवासीले कसैलाई आरोप लगाउने उद्देश्य नभई मन्दिरको सम्पत्तिको पारदर्शिता, व्यवस्थापनमा जवाफदेहिता र धार्मिक धरोहरको संरक्षण सुनिश्चित गर्न आवाज उठाएको बताएका छन् ।
मन्दिरको सम्पत्ति, आम्दानी तथा व्यवस्थापनबारे उठेका प्रश्नमा सम्बन्धित व्यवस्थापन पक्षले कुनै धारणा प्रकट गरेको छैनन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…