पर्सामा पटका पड्काउँदा छर्रा लागेर ८ वर्षीय बालकको मृत्यु, तिहारमा परिवार शोकाकुल
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले पटका पड्काउने क्रममा छातीमा छर्रा लागेर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेका छन् ।

२०८३ कार्तिक २३ सोमबार, बेलुकी ७:०४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, वीरगँज । पर्सामा पटका पड्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनी निवासी रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी रहेका छन् ।
सोमबार बिहान करिब ८ बजे आफ्नै घरअगाडि पटका पड्काउने क्रममा बालकको छातीमा पटाकाको छर्रा लागेको थियो । फलामको पाइपभित्र पटका राखेर पड्काउने क्रममा पाइपको दुवैतर्फबाट छर्रा निस्किँदा उनको छातीको बीच भागमा गम्भीर चोट लागेको प्रारम्भिक विवरणमा उल्लेख छ ।
गम्भीर घाइते भई बेहोस भएका बालकलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो । तर, चिकित्सकले बिहान करिब ८ः४५ बजे उनलाई मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले पटका पड्काउने क्रममा छातीमा छर्रा लागेर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस घटनाले चाडपर्वका बेला पटका तथा विस्फोटक पदार्थको प्रयोगले बालबालिकाको ज्यानसमेत जोखिममा पार्न सक्ने देखाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।




















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…