३ बच्चाका बुबा मौलानाले १८ वर्षीया छात्रासँग गरे निकाह, आक्रोशित भीडले अदालत परिसरमै कुटे
घटनाबारे जानकारी पाएपछि युवतीका परिवारले जयसिंहपुरा खोर प्रहरी थानामा उजुरी दिएका थिए । त्यसपछि स्थानीयवासीसमेत मौलानाविरुद्ध कारबाहीको माग गर्दै प्रहरी कार्यालय पुगेका थिए ।

२०८३ कार्तिक २४ मंगलबार, बेलुकी ५:३६ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जयपुर । भारतको राजस्थानस्थित जयपुरमा एक मदरसाका मौलानाले आफैँकहाँ पढ्न आउने १८ वर्षीया छात्रासँग निकाह गरेपछि विवाद चर्किएको छ । पहिले नै विवाहित र तीन सन्तानका पिता रहेका मौलाना वकार अहमदले छात्रासँग निकाह गरेको विषय सार्वजनिक भएपछि युवतीका परिवार र स्थानीयवासी आक्रोशित भएका हुन् ।
जयपुरको जयसिंहपुरा खोर थाना क्षेत्रअन्तर्गत नाई की थडीस्थित मदरसामा घटना भएको हो । प्रहरीका अनुसार मौलाना वकार अहमद उक्त मदरसामा पढाउने काम गर्थे । सोही क्रममा मदरसामा अध्ययन गर्न आउने १८ वर्षीया युवतीसँग उनको निकटता बढेको थियो ।
आरोपअनुसार मौलानाले युवतीलाई आफ्नो प्रभावमा पारेर निकाह गरेका हुन् । मौलाना पहिले नै विवाहित रहेको र उनका तीन सन्तानसमेत रहेको खुलेपछि युवतीका परिवारले निकाहप्रति असहमति जनाएका थिए । परिवारले युवतीलाई सम्झाउने प्रयास गरे पनि उनले मौलानासँगै निकाह गर्ने अडान लिएकी थिइन् । अन्ततः परिवारको सहमतिबिनै उनीहरूबीच निकाह भएको बताइएको छ ।
घटनाबारे जानकारी पाएपछि युवतीका परिवारले जयसिंहपुरा खोर प्रहरी थानामा उजुरी दिएका थिए । त्यसपछि स्थानीयवासीसमेत मौलानाविरुद्ध कारबाहीको माग गर्दै प्रहरी कार्यालय पुगेका थिए ।
बढ्दो विरोधपछि प्रहरीले मौलानालाई शान्ति भंग गरेको आरोपमा नियन्त्रणमा लिएर शनिबार अदालतमा उपस्थित गराएको थियो । अदालतले उनलाई न्यायिक हिरासतमा पठाउने आदेश दिएपछि बाहिर निकाल्ने क्रममा आक्रोशित समूहले मौलानालाई घेरा हालेर कुटपिट गरेको थियो ।
प्रहरीकै उपस्थितिमा केही व्यक्तिले उनीमाथि लात्ती र मुक्का प्रहार गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले निकै प्रयास गर्नुपरेको थियो । अन्ततः प्रहरीले भीडबाट मौलानालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको थियो । घटनाको भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार युवतीले आफू १८ वर्षकी भएको र आफ्नै इच्छाले निकाह गरेको दाबी गर्दै भिडियोसमेत सार्वजनिक गरेकी थिइन् । प्रहरीले युवतीको उमेरसम्बन्धी कागजात तथा बयानका आधारमा घटनाको थप अनुसन्धान गरिरहेको छ ।
मौलानामाथि मदरसामा आउने अन्य छात्राहरूलाई समेत प्रभावमा पार्ने प्रयास गरेको आरोप लागेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…