सुदुरपश्चिमसँग जनकपुर बोल्ट्सको लज्जास्पद हार, ९३ रनमै समेटियो टोली
यस हारसँगै जनकपुरको प्लेअफ यात्रा थप चुनौतीपूर्ण बनेको छ । लिग चरणमा अब बाँकी खेल जित्नुपर्ने दबाब टोलीमाथि बढेको छ ।
२०८३ कार्तिक २४ मंगलबार, राति ८:५६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्ससँग लज्जास्पद हार बेहोरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जनकपुर २७ रनले पराजित भएको हो ।
सुदूरपश्चिमले दिएको १२१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा ९३ रनमै समेटियो । ब्याटिङमा कमजोर प्रदर्शन गरेको जनकपुरका ब्याटरहरूले लगातार विकेट गुमाउँदा टोलीले लक्ष्य भेट्टाउन सकेन ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ रन बनाए । त्यस्तै थारिन्दु रत्नायके २७ रनमा अविजित रहे ।
जनकपुरका कप्तान हरमित सिंहले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । उनीसँगै ह्यारी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले पनि विकेट लिएर सुदूरपश्चिमलाई ठूलो योगफल बनाउनबाट रोकेका थिए ।
तर, बलिङमा उत्कृष्ट प्रदर्शन गरेको जनकपुरले ब्याटिङमा भने त्यसको फाइदा उठाउन सकेन । जितका लागि सामान्य लक्ष्य पाए पनि ब्याटरहरू जिम्मेवारीपूर्वक खेल्न असफल भए । परिणामस्वरूप जनकपुरले महत्वपूर्ण दुई अंक गुमाएको छ ।
यस हारसँगै जनकपुरको प्लेअफ यात्रा थप चुनौतीपूर्ण बनेको छ । लिग चरणमा अब बाँकी खेल जित्नुपर्ने दबाब टोलीमाथि बढेको छ ।
यसअघि जनकपुरले पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजलाई पराजित गरेको थियो भने कर्णाली याक्स, विराटनगर किंग्स र लुम्बिनी लायन्ससँग हार बेहोरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
Aadarsh Singh
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…