IEMIS मा २ लाख विद्यार्थीको नाम फर्जी देखियो, भ्रष्टाचारको आशंकामा शिक्षा मन्त्रालयले बनायो छानबिन समिति
विद्यार्थीको विवरणकै आधारमा सरकारी अनुदान तथा शैक्षिक कार्यक्रमको बजेट निर्धारण हुने भएकाले तथ्याङ्क दोहोरिएको घटनाले सार्वजनिक रकमको वितरणमा समेत अनियमितता भएको हुन सक्ने आशंका जन्माएको छ ।

२०८३ कार्तिक २० शुक्रबार, बिहान ८:३२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । विद्यालयको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) मा दुई लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको पाइएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन थालेको छ ।
एउटै विद्यार्थीको विवरण पटक–पटक प्रविष्ट गरेर सरकारी अनुदानमा अनुचित लाभ लिइएको हुन सक्ने आशंकापछि मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीको वास्तविक संख्या र सरकारी अभिलेखमा रहेको विवरणबीच ठूलो अन्तर देखिएपछि तथ्याङ्कको विश्वसनीयतामाथि प्रश्न उठेको छ ।
विद्यार्थीको विवरणकै आधारमा सरकारी अनुदान तथा शैक्षिक कार्यक्रमको बजेट निर्धारण हुने भएकाले तथ्याङ्क दोहोरिएको घटनाले सार्वजनिक रकमको वितरणमा समेत अनियमितता भएको हुन सक्ने आशंका जन्माएको छ ।
मन्त्रालयले गठन गरेको समितिलाई आईईएमआईएसमा विद्यार्थीको विवरण दोहोरिनुको कारण पहिचान गर्ने, तथ्याङ्कको वास्तविकता परीक्षण गर्ने तथा यसबाट सरकारी अनुदान वितरणमा कुनै अनुचित लाभ लिइएको छ कि छैन भन्ने विषयमा छानबिन गर्ने जिम्मेवारी दिइएको छ ।
समितिले गलत विवरण प्रविष्ट गर्ने, दोहोरिएको तथ्याङ्कलाई आधार बनाएर अनुदान लिने वा त्यसमा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कारबाहीका लागि सिफारिस गर्नेछ ।
यदि दोहोरिएको विवरण जानाजानी राखिएको पुष्टि भएमा यो सामान्य प्राविधिक त्रुटिमा सीमित रहने विषय होइन । विद्यार्थीको नाममा राज्यको बजेट परिचालन गर्ने प्रणालीमै चलखेल भएको गम्भीर विषय बन्न सक्छ ।
यद्यपि, हालसम्म दुई लाखभन्दा बढी विवरण दोहोरिएको आशंका देखिएको भए पनि त्यति नै विद्यार्थीको नाममा अनुदान हिनामिना भएको पुष्टि भइसकेको छैन । मन्त्रालयको छानबिनले वास्तविक विद्यार्थी संख्या, विवरण दोहोरिनुको प्रकृति र सम्भावित आर्थिक अनियमितताको तथ्य उजागर गर्नुपर्नेछ ।
सार्वजनिक शिक्षामा विनियोजित बजेटको प्रभावकारिता र पारदर्शितामाथि प्रश्न उठिरहेका बेला यो प्रकरणले विद्यालयको विद्यार्थी अभिलेख प्रणाली तथा त्यसका आधारमा हुने सरकारी अनुदान वितरणको निगरानीमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…