चार वर्ष पुरानो योजनामा अहिले नेताको जस लिने होड, जनकपुरमा भूमिगत तारको काम कसको पहलमा ?
चार वर्षअघि नै सार्वजनिक भएको योजनामा अहिले धनुषा ३ का साँसद मनिष झाको सचिवालय, उनका कार्यकर्ताहरुले मनिष झाकै पहलमा योजना चलेको भनेर प्रचार गर्दै उपलब्धीको रुपमा देखाएका छन् ।

२०८३ कार्तिक २० शुक्रबार, बिहान ९:२१ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा विद्युत् तार भूमिगत गर्ने योजनालाई अहिले नयाँ पहल र आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गर्ने होड चलेको छ । तर, जनकपुरसहित देशका प्रमुख सहरमा विद्युत् तार भूमिगत गर्ने योजना नेपाल विद्युत् प्राधिकरणले चार वर्षअघि नै सार्वजनिक गरिसकेको तथ्यले अहिलेको राजनीतिक प्रचारमाथि प्रश्न उठाएको छ ।
नेपाल विद्युत् प्राधिकरणले २०७९ मंसिर २७ गते नै काठमाडौं उपत्यकाबाहिरका जनकपुर, विराटनगर, पोखरा र चितवनलगायत ठूला सहरमा विद्युत् तार भूमिगत गर्ने तयारी भइरहेको सार्वजनिक गरेको थियो । त्यसबेला प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले आवश्यक गृहकार्य भइरहेको र वित्तीय मोडालिटीसमेत तयार गरिरहेको बताएका थिए ।
त्यतिबेलाको समाचारमा प्राधिकरणले जनकपुरसहितका सहरमा भूमिगत विद्युत् प्रणाली विस्तार गर्ने योजना बनाएको स्पष्ट उल्लेख छ । अर्थात्, जनकपुरमा भूमिगत तार विस्तारको अवधारणा कुनै अहिलेका जनप्रतिनिधिको नयाँ आविष्कार नभई प्राधिकरणको चार वर्ष पुरानो संस्थागत योजना हो ।
यसैबीच, जनकपुरधाममा भूमिगत तार बिछ्याउने काम करिब एक वर्षअघिदेखि नै अघि बढेको स्थानीयस्तरमा बताइँदै आएको छ । तर, अहिले आएर १२ किलोमिटर भूमिगत विद्युत् लाइन विस्तारको काम सुरु भएको भन्दै राजनीतिक तहबाट आफ्नो पहल र उपलब्धिका रूपमा प्रचार गर्न थालिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सामाजिक सञ्जालमार्फत रामानन्द चोकदेखि रेल्वे स्टेसन गेटसम्म र जनक चोकदेखि राम मन्दिरसम्म ११ केभी क्षमताको भूमिगत विद्युत् लाइन विस्तार हुने जानकारी सार्वजनिक गरेका छन् । उनले यसलाई आफ्नो विशेष पहलको परिणामका रूपमा प्रस्तुत गरेका छन् ।
तर, चार वर्षअघि नै प्राधिकरणले सार्वजनिक गरेको योजना, त्यसपछिको तयारी र एक वर्षअघिदेखि सुरु भएको भनिएको कामको पृष्ठभूमि स्पष्ट नगरी अहिलेको कामलाई मात्रै नयाँ राजनीतिक उपलब्धिका रूपमा प्रस्तुत गर्नुले योजनाको वास्तविक इतिहास ओझेलमा पर्ने देखिन्छ ।
विकास निर्माणका योजनामा जनप्रतिनिधिको समन्वय र पहल महत्त्वपूर्ण हुन सक्छ । तर, राज्यका निकायले वर्षौंअघि बनाएको योजना र सुरु गरिसकेको कामको सम्पूर्ण जस साँसद मनिष झाले लिन खोजेपछि समाजिक सँजालमा उनको आलोचना भएको छ ।
जनकपुरमा भूमिगत तार विस्तारको कामलाई लिएर अहिले भइरहेको प्रचारबीच नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालयले समेत पुरानो योजना रहेको प्रष्टयाएको छ ।
विद्युत प्राधिकरण मधेश प्रदेशका प्रमुख शम्भु कुसियैत यादवले ४ बर्ष अगाडीको विद्युत प्राधिकरणकै योजना रहेको बताएका छन् ।
उनले जनकपुरमा एक बर्ष अगाडीदेखि नै योजना सँचालनमा रहेको बताए । उनले मुजेलियादेखि रामानन्दचोकसम्म पहिलो चरणमा केही तार अन्डरग्राउण्ड गरिएको र बाँकीका काम पुनः सुरु गरिएको बताए ।
चार वर्षअघि नै सार्वजनिक भएको योजनामा अहिले धनुषा ३ का साँसद मनिष झाको सचिवालय, उनका कार्यकर्ताहरुले मनिष झाकै पहलमा योजना चलेको भनेर प्रचार गर्दै उपलब्धीको रुपमा देखाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…