३३ लाख नगदसहितको इभी कार नियन्त्रणमा, मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
३३ लाख रुपैयाँको बरामदगी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि भएको कारबाहीलाई अख्तियारले घुस लेनदेनको आशंकासँग जोडेर अनुसन्धान अघि बढाएको छ ।
२०८३ कार्तिक १७ मंगलबार, बिहान ११:४५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई नियन्त्रणमा लिएको छ । उनका नातेदार पर्ने भुवन ढुङ्गेल सवार विद्युतीय कारबाट ३३ लाख रुपैयाँ नगद बरामद भएपछि अख्तियारले घिमिरेलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।
सोमबार अपराह्न मध्यपुर थिमि नगरपालिकाबाट बाहिरिएको बागमती प्रदेश ०१-०३५ च २६८७ नम्बरको टाटा इभी कारलाई अख्तियारको विशेष टोलीले निकोसेरास्थित अजिमा पेट्रोल पम्पनजिकै रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा कारबाट ३३ लाख रुपैयाँ नगद फेला परेको थियो । त्यसपछि कारका चालक, सवार भुवन ढुङ्गेल र उनकी श्रीमतीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।
अख्तियारको दाबीअनुसार बरामद भएको रकम प्रमुख प्रशासकीय अधिकृत घिमिरेले घुसबापत लिएको र व्यवस्थापनका लागि ढुङ्गेललाई दिएको आशंका गरिएको छ ।
नगद बरामद भएपछि अख्तियारको टोली मध्यपुर थिमि नगरपालिका कार्यालय पुगेको थियो । टोलीले घिमिरेलाई कार्यालयबाटै नियन्त्रणमा लिएर रकम बरामद भएको स्थानमा ल्याएको बताइएको छ ।
यता प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भने आफूले घुस लिएको आरोप अस्वीकार गरेका छन् । घटनासँग सम्बन्धित रकम र अन्य प्रमाणबारे मुचुल्का तयार पार्ने काम भइरहेको छ ।
३३ लाख रुपैयाँको बरामदगी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि भएको कारबाहीलाई अख्तियारले घुस लेनदेनको आशंकासँग जोडेर अनुसन्धान अघि बढाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेकाले रकमको वास्तविक स्रोत, प्रयोजन र सम्भावित संलग्नताबारे विस्तृत विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
Aadarsh Singh
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…