‘पाँच पाण्डव’ मा हिन्दु धर्म र आस्थामाथि मजाक बनाएको भन्दै विश्व हिन्दू परिषद्को आपत्ति, बहिष्कारको चेतावनी
धार्मिक आस्थाको अपमान गरेर व्यावसायिक सफलता हासिल गर्ने प्रयास स्वीकार्य नहुने भन्दै उसले हिन्दू समाजलाई बहिष्कार अभियानमा सहभागी हुन आह्वान गर्ने जनाएको छ ।

२०८३ कार्तिक १७ मंगलबार, बिहान ८:५६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली चलचित्र ‘पाँच पाण्डव’ मा महाभारतका पूजनीय पात्रहरूको चित्रण गरिएको शैलीप्रति विश्व हिन्दू परिषद् नेपालले गम्भीर आपत्ति जनाएको छ । चलचित्रका सार्वजनिक भएका दृश्य तथा गीतले हिन्दू समुदायको धार्मिक आस्थामा चोट पुर्याएको परिषद्को आरोप छ ।
परिषद्ले एक विज्ञप्ति जारी गर्दै महाभारतलाई सामान्य मनोरञ्जनको विषय नभई सनातन हिन्दू सभ्यताको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक धरोहरका रूपमा व्याख्या गरेको छ ।
भगवान् श्रीकृष्ण, धर्मराज युधिष्ठिर, अर्जुन, भीम, नकुल, सहदेव र माता द्रौपदीजस्ता पात्र करोडौँ हिन्दूको आस्था र श्रद्धासँग जोडिएको उल्लेख गर्दै परिषद्ले उनीहरूको गरिमा र धार्मिक मर्यादामा आँच पुग्ने गरी चित्रण गर्न नहुने जनाएको छ ।
चलचित्र निर्माण गर्ने स्वतन्त्रता भए पनि त्यसका नाममा धार्मिक आस्था र सांस्कृतिक पहिचानमाथि प्रहार गर्ने छुट कसैलाई नरहेको परिषद्को भनाइ छ । अन्य धर्मका आस्थाका प्रतीकप्रति सम्मान अपेक्षा गर्नेहरूले हिन्दू धर्मका श्रद्धेय पात्रप्रति पनि समान सम्मान देखाउनुपर्ने उसले जनाएको छ ।
परिषद्ले चलचित्रका निर्माता, निर्देशक, कलाकार तथा निर्माण पक्षलाई विवादित दृश्य, संवाद र प्रस्तुतिहरू तत्काल पुनरावलोकन गरी आवश्यक सुधार गर्न आग्रह गरेको छ । साथै, निर्माण पक्षले हिन्दू समुदायको धार्मिक भावनामा चोट पुगेको विषयमा सार्वजनिक रूपमा आफ्नो धारणा स्पष्ट पार्नुपर्ने माग गरेको छ ।
माग सम्बोधन नभई चलचित्र प्रदर्शन गरिए शान्तिपूर्ण जनविरोध तथा चलचित्र बहिष्कार अभियान सञ्चालन गर्ने परिषद्ले चेतावनी दिएको छ । धार्मिक आस्थाको अपमान गरेर व्यावसायिक सफलता हासिल गर्ने प्रयास स्वीकार्य नहुने भन्दै उसले हिन्दू समाजलाई बहिष्कार अभियानमा सहभागी हुन आह्वान गर्ने जनाएको छ ।
परिषद्ले धार्मिक सद्भाव, सामाजिक सहिष्णुता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने उल्लेख गर्दै आफ्नो धर्म, संस्कृति र आस्थाको रक्षा गर्नु अधिकार तथा दायित्व दुवै भएको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…