रौतहटमा नुसिदा खातुनले जन्माईन तीन खुट्टा भएको बालिका, अस्पताल लैजान डाक्टरको सल्लाह
बालिकाको शरीरमा दुईवटा सामान्य खुट्टासँगै देब्रे खुट्टाको भागमा अर्को अतिरिक्त खुट्टा जोडिएको छ । अतिरिक्त खुट्टा अन्य दुई खुट्टाभन्दा केही पातलो भए पनि त्यसमा नङसमेत रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

२०८३ कार्तिक १७ मंगलबार, बिहान ८:२७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, रौतहट । रौतहटको राजपुर नगरपालिकामा तीनवटा खुट्टा भएको नवजात बालिकाको जन्म भएको छ । असामान्य शारीरिक बनावटसहित बालिकाको जन्म भएपछि स्थानीय क्षेत्रमा चासो बढेको छ ।
राजपुर नगरपालिका–स्थित प्राथमिक स्वास्थ्य केन्द्र फरहदवामा सोमबार बिहान करिब ५ बजे २८ वर्षीया नुसिदा खातुनले सामान्य प्रसूतिमार्फत बालिकालाई जन्म दिएकी हुन् ।
गुजरा नगरपालिका–८ कनकपुर निवासी खातुनले जन्म दिएकी बालिकाको तौल तीन किलोग्राम रहेको स्वास्थ्य केन्द्रका प्रमुख स्वास्थ्यकर्मी रामेश्वर मिश्रले जानकारी दिए । उनका अनुसार जन्मलगत्तै गरिएको प्रारम्भिक परीक्षणमा शिशुको अवस्था सामान्य पाइएको थियो ।
बालिकाको शरीरमा दुईवटा सामान्य खुट्टासँगै देब्रे खुट्टाको भागमा अर्को अतिरिक्त खुट्टा जोडिएको छ । अतिरिक्त खुट्टा अन्य दुई खुट्टाभन्दा केही पातलो भए पनि त्यसमा नङसमेत रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
स्वास्थ्यकर्मी आजाद हुसैनका अनुसार शिशुको असामान्य शारीरिक अवस्थालाई मध्यनजर गर्दै थप परीक्षण तथा उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लैजान चिकित्सकीय सल्लाह दिइएको थियो । तर, परिवारका सदस्यहरूले आपसी सल्लाहपछि बालिकालाई स्वास्थ्य केन्द्रबाट घर लगेका छन् ।
घटनाबारे जानकारी पाएपछि राजपुर नगरपालिकाका नगरप्रमुख डा। राजीक आलमले स्वास्थ्यकर्मीहरूको कार्यसम्पादनको प्रशंसा गरेका छन् । जटिल प्रकृतिको शारीरिक अवस्थासहित शिशुको जन्म भएपछि तत्काल आवश्यक प्रक्रिया पूरा गरी थप उपचारका लागि रेफर गर्ने तयारी गरेको भन्दै उनले स्वास्थ्यकर्मी तथा प्रसूति सेवामा संलग्न नर्सिङ कर्मचारीहरूको प्रशंसा गरेका हुन् ।
नगरप्रमुख आलमले नवजात बालिकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
चिकित्सकीय भाषामा शरीरमा अतिरिक्त अंग विकसित हुने अवस्थालाई जन्मजात शारीरिक असामान्यता (कन्जेनिटल एनोमली) भनिन्छ । बालिकाको शरीरमा अतिरिक्त खुट्टा जोडिनुको वास्तविक कारण, त्यसको प्रकृति र शल्यक्रियामार्फत उपचार सम्भव भए–नभएको विषय विस्तृत चिकित्सकीय परीक्षणपछि मात्रै स्पष्ट हुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…