साउदीमा हुथीको ड्रोन आक्रमणमा उजाडियो महतो परिवारको सपना, ऋण र चार सन्तानको जिम्मेवारीले परिवार संकटमा
भरतले पठाउने रकमबाट मासिक २० हजार रुपैयाँ किस्ता तिर्दै आएकी उनी अब ऋण कसरी चुक्ता गर्ने भन्ने चिन्तामा छिन् ।

२०८३ कार्तिक ११ बुधबार, बिहान १०:४६ बजे३ मिनेट पढाइ
न्यूज ब्युरो, महोत्तरी । साउदी अरबमा रोजगारीका क्रममा हुथी विद्रोहीको ड्रोन आक्रमणमा परी महोत्तरीका एक नेपाली श्रमिकको मृत्यु भएपछि उनको परिवार शोकसँगै आर्थिक संकटमा परेको छ । पिपरा गाउँपालिका–१ ढेकाहाका ४५ वर्षीय भरत महतोको गत कात्तिक ४ गते साउदी अरबमा भएको ड्रोन आक्रमणमा मृत्यु भएको हो ।
भरतको मृत्युपछि उनकी पत्नी इन्द्रिकादेवी महतो चार छोराछोरीको पालनपोषण र घर निर्माणका लागि लिएको ऋण तिर्नुपर्ने जिम्मेवारीका कारण थप समस्यामा परेकी छन् । परिवारको आर्थिक अवस्था सुधार्ने र छोराछोरीको भविष्य सुरक्षित गर्ने उद्देश्यले १४ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका भरतको मृत्युले परिवारको सपना अधुरै बनेको छ ।
भरत साउदी अरबको पूर्वी प्रान्तस्थित सैबाह तेल क्षेत्रमा रहेको साउदी अरामकोको परियोजनामा सरसफाइको काम गर्दै आएका थिए । कात्तिक ४ गते उक्त परियोजना क्षेत्रमा भएको ड्रोन आक्रमणमा भरतसहित भारतीय र पाकिस्तानी श्रमिकको समेत मृत्यु भएको थियो ।
भरतको कमाइ नै परिवारको मुख्य आर्थिक स्रोत थियो । उनले केही समयअघि गाउँमा एक कट्ठा घडेरी किनेर चारकोठे पक्की घर निर्माण सुरु गरेका थिए । घर निर्माणका लागि इन्द्रिकादेवीले निजी बैंकबाट ११ लाख रुपैयाँ ऋण लिएकी थिइन् । भरतले पठाउने रकमबाट मासिक २० हजार रुपैयाँ किस्ता तिर्दै आएकी उनी अब ऋण कसरी चुक्ता गर्ने भन्ने चिन्तामा छिन् ।
श्रीमान्को मृत्युको खबरले शोकमा डुबेकी इन्द्रिकादेवीले परिवारको भविष्यका लागि विदेशमा पसिना बगाइरहेका श्रीमान् गुमाउँदा छोराछोरीको लालनपालन र ऋण तिर्ने दुवै चुनौती थपिएको बताएकी छन् ।
भरतको शव नेपाल ल्याउन पहल गरिदिन माग गर्दै इन्द्रिकादेवीले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा निवेदन दिएकी छन् । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार पीडित परिवारको निवेदन गृह मन्त्रालयमा पठाइएको छ । कन्सुलर विभागले पनि उक्त निवेदन रियादस्थित नेपाली दूतावासमा पठाइसकेको छ । दूतावासले भरतको मृत्यु प्रमाणपत्र प्राप्त भएको जनाएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले भरतको शव नेपाल ल्याउन सरकारका तर्फबाट पहल भइरहेको बताएका छन् । उनले यस विषयमा साउदी सरकारसँग समेत कुराकानी भइरहेको जानकारी दिएका छन् ।
तर, भरतको श्रम स्वीकृतिको म्याद एक वर्षअघि नै समाप्त भइसकेकाले वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोष तथा वैदेशिक रोजगार बीमाबाट प्राप्त हुने आर्थिक सहायता पाउन समस्या देखिएको छ । प्रचलित व्यवस्थाअनुसार योग्य श्रमिकको मृत्यु हुँदा कल्याणकारी कोषबाट १० लाख र बीमाबापत १५ लाख रुपैयाँसम्म सहायता उपलब्ध हुन सक्छ । भरतको हकमा भने आवश्यक प्रक्रिया र योग्यताबारे सम्बन्धित निकायबाट स्पष्ट हुन बाँकी छ ।
भरतका दाजु रामजस महतोले भाइको मृत्युपछि परिवारले सरकारी निकायबाट पर्याप्त सहयोग र परामर्श नपाएको गुनासो गरेका छन् । परिवारले शव यथाशीघ्र नेपाल ल्याउन, राहत उपलब्ध गराउन र चार सन्तानको भविष्य सुरक्षित गर्न सरकारले सहयोग गर्नुपर्ने माग गरेको छ ।
यसैबीच, साउदी अरबमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको जोखिम बढेपछि रियादस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली श्रमिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सुरक्षा चेतावनी जारी भएका बेला बाहिर ननिस्कन, स्थानीय सुरक्षा निकायका निर्देशन पालना गर्न र आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र विश्वास गर्न दूतावासले अनुरोध गरेको छ ।
साउदी अरबमा करिब चार लाख नेपाली कार्यरत रहेको अनुमान छ । पछिल्ला आक्रमणले रोजगारीका लागि विदेशमा रहेका नेपालीको सुरक्षा र उनीहरूका परिवारको भविष्यबारे गम्भीर प्रश्न उठाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…