४१५ रुपैयाँको तेल किन्दा जनकपुरका पण्डितले जिते १० लाख, घर मर्मतदेखि लोक सेवा तयारीसम्मको योजना
धनुषाको एउटा सामान्य परिवारमा खुसी मात्रै थपेको छैन, सरकारी सेवामा प्रवेश गर्ने उनको सपनालाई अघि बढाउने नयाँ आधार

२०८३ कार्तिक १७ मंगलबार, बिहान ९:५६ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । सामान्यतया ४१५ रुपैयाँको सामान खरिद गर्दा कसैले १० लाख रुपैयाँ पुरस्कार जित्ने कल्पना पनि गर्दैनन् । तर धनुषाका एक युवकका लागि सामान्य किनमेल नै जीवनको ठूलो खुसी बनेको छ ।
धनुषाको नगराइन नगरपालिका–९ घोरघास निवासी गौरीशंकर पण्डितले जम्मा ४१५ रुपैयाँको तोरीको तेल खरिद गर्दा १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन् । सरकारको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत आयोजित लक्की ड्रमा उनी विजेता बनेका हुन् ।
हाल ललितपुरमा बस्दै आएका पण्डितले गत कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल खरिद गरेका थिए । उनले उक्त रकम ई–सेवामार्फत भुक्तानी गरेका थिए । सोही कारोबारको बिलका आधारमा उनी १० लाख रुपैयाँको पुरस्कारका लागि छनोट भएका हुन् ।
आन्तरिक राजस्व विभागले कात्तिक १६ गते विजेताको नाम सार्वजनिक गरेको थियो । विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले फोन गरेर पुरस्कार जितेको जानकारी गराउँदा पण्डित आश्चर्यचकित हुँदै निकै खुसी भएका थिए ।
पुरस्कारबाट घर मर्मत र लोक सेवाको तयारी
पण्डितका लागि यो पुरस्कार केवल आर्थिक उपलब्धि मात्र होइन, लामो समयदेखि देखेको सपना पूरा गर्ने अवसरसमेत बनेको छ ।
६ सदस्यीय परिवारका कान्छा सदस्य पण्डित गाउँमा रहँदा बुवाआमालाई खेतीपातीमा सघाउने गर्थे । आर्थिक अवस्था सहज नभएपछि सरकारी जागिर खाने लक्ष्यसहित उनी करिब एक वर्षअघि काठमाडौं आएका थिए ।
हाल उनी स्नातक तहको चौथो वर्षमा अध्ययनरत छन् । पढाइसँगै जीविकोपार्जनका लागि पठाओ, इनड्राइभ र याङ्गोजस्ता राइड सेयरिङ सेवामार्फत मोटरसाइकल चलाएर आम्दानी गर्दै आएका छन् । दिनभरि काम गर्ने र बाँकी समय लोक सेवा आयोगको तयारीमा खर्च गर्ने उनको दैनिकी छ ।
१० लाख रुपैयाँ जितेपछि उनले गाउँमा रहेको घर मर्मत गर्ने र बाँकी रकम लोक सेवा आयोगको तयारीमा खर्च गर्ने योजना बनाएका छन् । वर्षभरि गाडी चलाएर पनि यति ठूलो रकम कमाउन कठिन हुने भन्दै उनले पुरस्कार जित्दा आफूलाई ठूलो राहत मिलेको बताएका छन् ।
बिल लिने बानीले दिलायो ठूलो पुरस्कार
सरकारले उपभोक्तालाई सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने, डिजिटल भुक्तानीको प्रयोग बढाउने र कर प्रणालीलाई पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
पण्डितको जितले सामान्य किनमेलमा पनि आधिकारिक बिल लिनु र डिजिटल भुक्तानी गर्नुको महत्व उजागर गरेको छ । उनले पनि सामान खरिद गर्दा सबैले अनिवार्य रूपमा बिल लिनुपर्ने आग्रह गरेका छन् ।
आवश्यक प्रक्रिया पूरा गरेपछि आगामी मंसिर १ गते काठमाडौंमा आयोजना हुने कार्यक्रममा अर्थमन्त्रीबाट उनलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
४१५ रुपैयाँको तेल खरिदबाट १० लाख रुपैयाँको पुरस्कार जितेका गौरीशंकरको यो संयोगले धनुषाको एउटा सामान्य परिवारमा खुसी मात्रै थपेको छैन, सरकारी सेवामा प्रवेश गर्ने उनको सपनालाई अघि बढाउने नयाँ आधारसमेत दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…