मधेशकी १५०० 'बेटी' लाई मधेश सरकारको साईकल
बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत यस वर्ष पनि कक्षा ८ मा अध्ययनरत्त २० हजार छात्राहरुलाई साइकल वितरण गर्न लागिएको हो ।

२०७७ फागुन २४ सोमबार, बेलुकी ५:४९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारले सोमबार फेरी पनि १५०० छात्रालाई साईकल प्रदान गरेको छ ।
१११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार आयोजना गरेको एक समारोहका बीच मुख्यमन्त्री लालबाबु राउतले धनुषा जिल्लाको २७ विद्यालयका १५२० छात्राहरुलाई साइकल वितरण गरेका हुन् ।
साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव रहेको बताए । यसको लागि प्रदेश भरि रहेका सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत्त छात्राहरुलाई साइकल वितरण गर्ने तयारी रहेको उनले बताए ।
साइकलले महिला सशक्त हुँदैन, उनले भने–तर, समाजिक रुपान्तरणको लागि सहयोगी हुन्छ । साइकलले समाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जिकिर गर्दै मुख्यमन्त्री राउतले यसलाई रुपान्तरणको पहिलो खुड्किलाको रुपमा लिनुपर्ने बताए ।
शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि रहेको महिलालाई अगाडी बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उनले दोहोर्याए । प्रदेशका छोरीहरुलाई शिक्षित सब्बल बनाउन बेटी पढाउ, बेटी बचाउ अभियानलाई अगाडी बढाएको उनले जानकारी दिए ।
महिला हिंसा, दाइजो प्रथा, वालविवाह जस्ता कुरीति विरुद्धको कानूनलाई सशक्त रुपमा पालना गरेर अघि बढनुपर्ने धारणा उनको थियो । एसिड आक्रमण गर्ने, बलात्कारको घटनाका दोषी विरुद्ध कठोर कानूनको खाँचो मुख्यमन्त्री राउतले औंल्याए ।

संशोधन गरेर भएपनि यस्ता जघन्य अपराधलाई सार्वजनिक स्थलमा झुण्डयाउने कानूनको व्यवस्था हुनुपर्ने उनको तर्क थियो । उक्त कार्यक्रममा एसिड पिीडित धनुषाका आरती साहलाई सम्मान समेत गरिएको छ ।
बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत यस वर्ष पनि कक्षा ८ मा अध्ययनरत्त २० हजार छात्राहरुलाई साइकल वितरण गर्न लागिएको हो ।
यसअघि २०७५/०७६ मा २ सय ६१ विद्यालयका १४ हजार छात्राहरुलाई सो अभियान अन्र्तगत साइकल वितरण गरिएको थियो ।
उपसभामुख उपमा देवको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहा, भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव, जसपा नेपालका प्रमुख सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, सरस्वती चौधरी, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। भोगेन्द्र झा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…