जनकपुरमा मोटरसाईकल चोर आज चोरी गर्दागर्दै रँगेहात पक्राउ
आज (बुधबार) अपरान्ह नै जिल्ला अदालत धनुषाको अगाडीबाटै एक मोटरसाईकल चोरी भएको थियो । युवकको नाम र ठेगाना अहिले प्रहरीले जनाएको छैनन् ।

२०७७ फागुन १९ बुधबार, राति ९:४१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरबाट प्रहरीले मोटरसाईकल चोरी गर्दैगर्दा एक युवकलाई पक्राउ गरेको छ ।
जनकपुरको व्यस्त चौक जनकचोकमै सडक छेउमा एक पसलेको मोटरसाईकल रोकी राखेको अवस्थामा अन्दाजी बर्ष ३० का युवक चोरी गर्दैगर्दा रँगेहात पक्राउ परेको हो ।
जनकपुरको जनकचोक स्थित रहेको टप कलेक्सन कपडा पसल मालिकको मोटरसाईकलमा विभिन्न प्रकारको साँचो (चाभी) ले खोल्दै गर्दा एक स्थानीयले देखेपछि उनलाई पक्राउ गरेको थियो ।
केही बेरमै चोकमा जम्मा भएका मानिसहरुले ती युवकलाई पक्राउ गरी कुटपिट गर्नका साथै प्रहरीलाई जानकारी गराएको थियो । जानकारी पाएलगत्तै जनकचोक पुगेका प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) प्रकाश रानाभटका अनुसार, मोटरसाईकल चोरी गर्दा गर्दै उनलाई स्थानीयले पक्राउ गरेपछि प्रहरीलाई खवर गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषा र जानकी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर अस्पताल लगेको जनाइएको छ ।
“हिरासतमा राख्नुभन्दा अघि मेडिकल गर्नुपर्ने प्रावधान अनुसार उनलाई अस्पतालबाट मेडिकल गरेर ल्याउँदै होलान, तर एक जना पक्राउ चैं परेको छ । केही बेरमा विस्तृतमा भन्छौं ”– एसपी रानाभटले भने ।
टप कलेक्सन नामक पसलकै छेउमा नक्कली साँचो, डुप्लीकेट साँचोहरु बनाउने गरिन्छ । सोही ठाउँमा पार्किँग गरी राखिएको बाईकमा पालैपालो विभिन्न साँचो लगाएर मोटरसाईकलको लक फुटाउने प्रयास गरेको थियो ।
सो मोटरसाईकल बुधबार जिल्ला अदालत धनुषाको अगाडीबाट चोरी गरी लगिएको थियो । प्रदेश २–०२–००१ प – ९१८६ नम्बरको निलो रँगको एफजेड भि–थ्री मोडेलको गाडी उनले नै अदालत अगाडीबाट उठाएको बताइएको छ ।
गाडी चोरी गरेर पनि उनले गाडी मालिककै पसल छेउमा गएर पार्किँग गरी नयाँ साँचोहरु बनाउन थालेका थिए । बिना साँचोकै उठाएर ल्याएको गाडीको लागि नयाँ साँचो बनाउन गएको बेला उनी पक्राउ परेका हुन् ।
सो गाडी जानकी चोक स्थितको टप कलेक्सन कपडा पसलको सँचालक जीतनारायण साहको रहेको बताइएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ बेलौनी बस्ने साहको मोटरसाईकल बुधबार अपरान्ह अदालत अगाडीबाट चोरी भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…