सर्वाेच्च अदालतले धर्म निर्वाह गरेको छ : प्रथम राष्ट्रपति डा.यादव
डा. यादवले अदालतको फैसलाले लोकतन्त्रमा विश्वास गर्नेलाई खुशी दिएको बताउँदै उनले भने, “लोकतन्त्र, गणतन्त्र, सङ्घीयतामा विश्वास गर्ने, समावेशितामा विश्वास गर्ने खुशी भएका छन् ।”

२०७७ फागुन १४ शुक्रबार, बिहान ८:०३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान र लोकतन्त्र रक्षाका लागि सर्वाेच्च अदालतले आफ्नो धर्म निर्वाह गरेको बताएका छन् ।
उनले लोकतन्त्र रक्षा गरी संविधान कार्यान्वयनका लागि अदालत र निर्वाचन आयोग निष्पक्ष हुनुपर्ने बताए । अदालतले आफ्नो धर्म निर्वाह गरेको डाक्टर यादवको टिप्पणी थियो ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाले जनकपुरमा आज आयोजना गरेको महेन्द्रनारायण निधिको ९९ औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा यादवले भने, “संसद् विघटन बदर गर्ने सर्वाेच्च अदालतको फैसलाले संविधान मजबुत बनाएको छ । अब लोकतन्त्र रहेसम्म कसैले पनि पाँच वर्षसम्म संसद् भङ्ग गर्न सक्दैन । म संविधानलाई बचाउने अदालतलाई धन्यवाद तथा फैसलाको लागि सम्मान गर्न चाहन्छु ।”
डा. यादवले अदालतको फैसलाले लोकतन्त्रमा विश्वास गर्नेलाई खुशी दिएको बताउँदै उनले भने, “लोकतन्त्र, गणतन्त्र, सङ्घीयतामा विश्वास गर्ने, समावेशितामा विश्वास गर्ने खुशी भएका छन् ।”
उनले संविधान जारी गर्दाको समयको स्मरण गर्दै भने, “मैले संविधान जारी गर्दा देशका सबै नागरिक खुशी होउन् भन्ने चाहेको थिएँ तर त्यतिबेला मधेशवादी दल छाडेर तत्कालीन नेकपा (एमाले), कांग्रेस, माओवादी सबै गरी ९० प्रतिशतको सहभागिता थियो र त्यसैलाई शिरोधार्य गर्दै अगाडि बढ्दै संविधान जारी गरेँ ।”
त्यसबेला मधेशी दलले संविधानप्रति आपति जनाए पनि यही संविधानअनुसार भएको निर्वाचनमा मधेशी दललेसमेत सहभागिता जनाएर भाग लिएपछि आफूले ठिकै गरेको अनुभूति भएको डा यादवले बताए । उनले भने, “मधेशी दल पनि सरकारमा गयो । चुनाव भयो र अगाडि बढिरहेको छ ।”
पूर्वराष्ट्रपति डा. यादवले भारतमा संविधान घोषणा हुन लाग्दा भीमराव अम्बेडकरले संविधान राम्रो र खराब नहुने तथा अगुवा ठिक रहे संविधान राम्रै बाटोबाट जाने भनी दिएको अभिव्यक्तिको स्मरण गर्दै भारतको संविधान १२२ पटक संशोधन भएको र अमेरिकामा २२ पटक संशोधन भइसकेको उदाहरण समेत दिए ।
पूर्वराष्ट्रपति डा. यादवले राजनीति दल विधि र प्रक्रियाअनुसार नलेको हुँदा चिरा परेकाले मुलुकमा समस्या आएको बताए । उनले आर्थिक अनुशासन कुनै पनि दलमा नभएको बताउँदै विधानअनुसार पार्टी नचले, नेता, कार्यकर्ताको आचरण ठिक नभए लोकतन्त्र खतरामा पर्ने बताए ।
डा. यादवले भने , “अहिले सबै पार्टीको यही हालत छ । लोकतन्त्रका बारेमा पढ्नुस् । बुझ्नुस् र आफूलाई लोकतान्त्रिक आचरणमा ढाल्नुस् ।” डा. यादवले नेपालको राजनीति दलमा आर्थिक अनुशासनसमेत नभएको आरोप लगाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…