प्रदेश प्रमुख अहिराजलाई स्वागत गर्न रातारात पुगे मुख्यमन्त्री राउत
प्रदेश प्रमुख झाले यसअघि संघीयता विरोधी अभिव्यक्ति दिँदै आएको भन्दै प्रदेश सरकारले नवनियुक्त प्रदेश प्रमुख झाको विरोध समेत गर्दै आएको छ ।

२०७७ फागुन १० सोमबार, बिहान १०:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का नव नियुक्त प्रदेश प्रमुख राजेश झा अहिराजलाई प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबू राउत गद्दीले अन्ततः स्वागत गरेका छन् ।
आईतबार अपरान्ह जनकपुर विमानस्थलमा नेकपा ओली गुटको नेता कार्यकर्ताहरु प्रदेश प्रमुख अहिराजलाई स्वागतको लागि गएपनि मुख्यमन्त्री राउतले भने स्वागत नगर्ने मनस्थिति बनाएका थिए ।
अपरान्ह जनकपुर आउँदा अहिराजलाई राज्यमन्त्री सरोज सिँह कुशवाहालाई स्वागतको लागि पठाएका थिए । आईतबार अहिराज आफ्नो पदभार सम्हाल्न जनकपुर आएको खवरपछि मुख्यमन्त्री राउतले अनौपचारिक रुपमा उनको स्वागत नगर्ने मनस्थितिमा रहेका थिए ।
अनौपचारिक रुपमा प्रदेश प्रमुख अहिराजको स्वागत बहिस्कार गरेको प्रदेश सरकारले रातारात उनको क्वाटरमा पुगेर स्वागत गरेका हुन् । प्रदेश २ का महान्याधिवक्ता दीपेन्द्र झा सहित मुख्यमन्त्री राउतले फूल लिएर उनलाई रातारात स्वागत गर्न पुगेका थिए ।
अपरान्ह ४ः३० बजे ओली निकट नेता कार्यकर्ताहरुले उनलाई भारी मालाले स्वागत गरेका थिए । त्यसपछि सिधा मधेश भवन पुगेका नव नियुक्त प्रदेश प्रमुख अहिराजले कार्यभार सम्हालेका थिए । कार्यभार सम्हालेपछि आईतबार राती नै मुख्यमन्त्री राउतले स्वागत गर्न पुगेका थिए ।
मुख्यमन्त्री सहित प्रदेशका मन्त्रीहरु जनकपुर बाहिर रहेकाले उनको स्वागतमा विमानस्थलमा नपुगेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको भनाई छ ।
प्रदेश प्रमुख झाले यसअघि संघीयता विरोधी अभिव्यक्ति दिँदै आएको भन्दै प्रदेश सरकारले नवनियुक्त प्रदेश प्रमुख झाको विरोध समेत गर्दै आएको छ ।
काम चलाउ तथा चुनावी सरकारलाई संवैधानिक तथा राजनैतिक नियुक्तिको अधिकार नभएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले जबर्जस्ती उनको नियक्ति गरेको मन्त्री यादवले बताए ।
निर्वतमान प्रदेश प्रमुख तिलक परियार आउँदा जनकपुर विमानस्थलमै पुगेर जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री लालबाबु राउत, मन्त्री तथा राज्यमन्त्री लगायतले भव्य स्वागत गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…