प्रदेश नं. २ को प्रदेश प्रमुखमा अहिराज नियुक्त
कुनै प्रदेशको प्रदेश प्रमुखको पद रिक्त भएको अवस्थामा प्रदेश प्रमुखको नियुक्ति नभएसम्मका लागि राष्ट्रपतिले अर्को कुनै प्रदेशको प्रदेश प्रमुखलाई त्यस्तो प्रदेशको समेत कामकाज गर्ने गरी तोक्न सक्ने व्यवस्था सँविधानमा उल्लेख छ ।

२०७७ फागुन ७ शुक्रबार, दिउँसो ४:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को नयाँ प्रदेश प्रमुखमा रौतहटका राजेश झा (अहिराज) लाई नियुक्त गरिएको छ ।
शुक्रबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै राजेश अहिराजलाई नयाँ प्रदेश प्रमुखको रुपमा नियुक्त गरेको हो । उनलाई संविधानको धारा १६३ को उपधारा २ बमोजिम नियुक्त गरिएको हो ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम रौतहटका राजेश झालाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।
नेपालको सँविधान २०७२ मा प्रदेश प्रमुख सम्बन्धी व्यवस्था अन्तगर्त (१) मा प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रदेश प्रमुख रहनेछ । (२) राष्ट्रपतिले प्रत्येक प्रदेशका लागि एक प्रदेश प्रमुख नियुक्ति गर्नेछ । भनेर उल्लेख गरिएको छ ।

(३) मा राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै निजलाई पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि पाँच वर्षको हुनेछ । (४) एउटै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुनसक्ने छैन । भनेर प्रावधान उल्लेख छ ।
यस्तै, प्रदेश प्रमुखको पद रिक्त हुने अवस्थाको सन्दर्भमा (क) निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा, (ख) निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा, (ग) निजको मृत्यु भएमा रिक्त हुने अवस्था उल्लेख छ । तिलक परियारलाई (ख) प्रयोग गरी पदमुक्त गरिएको हो ।
कुनै प्रदेशको प्रदेश प्रमुखको पद रिक्त भएको अवस्थामा प्रदेश प्रमुखको नियुक्ति नभएसम्मका लागि राष्ट्रपतिले अर्को कुनै प्रदेशको प्रदेश प्रमुखलाई त्यस्तो प्रदेशको समेत कामकाज गर्ने गरी तोक्न सक्ने व्यवस्था सँविधानमा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…